बन्दिपुरहिलमा साउनको पहिलो सोमबार वोलबम मेला

बन्दीपुर । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना बन्दिपुरहिलले साउनको पहिलो सोमबारको अवसरमा वोलबम मेला आयोजना गरेको छ ।
बन्दिपुरहिलमा साउन महिनालाई “शिव महिम्नाहा उत्सव” मनाउने योजना अनुसार साउन ७ गते सोमबार बृहत वोलबम मेला आयोजना गरिएको हो ।
वोलबम मेलामा भक्तजनहरुका लागि पैदल तथा रोप यात्राको कार्यक्रम रहेको छ । वोलवम कार्यक्रम बिहान ८ बजे मस्र्याङ्गदी नदीमा पुजा आराधना तथा आरती गरी सुरु हुनेछ ।
नदी पुजन पछि नदीको जल लिएर केवलकार चोकमा चट्टानबाट बनेको सिद्धेश्वर महादेव रुद्राभिषेक तथा पुजा आरधना गर्ने कार्यक्रम रहेको छ । साथै भक्तजनहरुले केलबकार प्राङ्गणमा रहेका ३३ कोटी देवी देवताको मुर्तिको दर्शन, शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शन गरिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, भजन किर्तन, केवलकार सवार गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दीपुरको तीनधारा स्थित महादेवको ज्योर्तिलिङ्गको रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पुजा आरधना गरी बृहत धार्मिक सांस्कृतिक कार्यक्रम सहित फर्केर पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुजा आरधना गरी केवलकार मार्फत बटम स्टेशनमा फर्किने कार्यक्रम रहेको छ ।
बेलुका विशेष सन्ध्या आरती गरी वोलबम कार्यक्रम समापन गरिने भएको छ । वोलबमको दिन बिहान ९ बजेदेखि ११ बजेसम्म बोलबलमा सहभागी तीर्थ यात्रीहरुले मात्र २ सयमा केबलकारको यात्रा गर्न पाउनेछन् । धेरै भन्दा धेरै भक्तजनहरुलाई वोलबम मेलामा सहभागी हुने अवसर प्रदान गर्न न्युनतम दरमा टिकट दिने निर्णय गरिएको शिव महिम्नाहा उत्सव आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।
“शिव महिम्नाहा उत्सव” अरु दिनहरुमा पनि विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । साउन महिनाभरि केवलकारको टिकट रु.पाँच सय राखिएको छ जसमा भक्तजनहरुले तीन सय मुल्य बराबरको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क लाभ लिन सक्नेछन् ।
कम्पनीले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गतेदेखि ३२ गतेसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।
श्रावण महिनाका प्रत्येक दिन साँझमा बन्दिपुरहिलको बटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती भइरहेको छ । “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।
आर्थिक लाभ भन्दा पनि स्थानीयले धार्मिक लाभ उठाउन सकुन् भन्ने उद्देश्यले एक महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजना समितिले जनाएको छ ।










