गोरखाको च्याङ्ली स्पोर्टसले जित्यो १७औं भानु कपको उपाधि

भानु । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशी पुरस्कार भएको १७औं भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टसले जितेको छ ।
तनहुँको शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस बीच उपाधिका लागि आइतबार भएको फाइनल खेलमा १–० गोल अन्तरले च्याङ्ली स्पोर्टस विजयी भएको हो ।
शनिबार भएको सेमिफाइनलमा भानुको फ्रेण्डसीप युवा क्लवलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको थियो ।
विजेता बनेसँगै च्याङ्ली नगद रु दुई लाख ५० हजार २११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता लिभिकले नगद रु एक लाख २५ हजार २११ र ट्रफीमा चित्त बुझाउनुपरेको छ ।
प्रतियोगितामा सेमिफाइनलमा पुगेको भानुस्थित फ्रेण्डसीप युवा क्लव र चितवनको सूर्यपुर एफएसी क्लवलाई नगद रु २५ हजार २११ प्रदान गरिएको छ । विजेताहरुलाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लवले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार २११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार २११, सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार २११ प्रदान गरिएको जनाइएको छ ।










