आँवुखैरेनीका गुरुङले जिते व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि

दमौली : व्यासगुफा–गलेखामकोट अल्ट्रा हाम म्याराथन प्रतियोगिताको उपाधि तनहुँको आँवुखैरेनीका सनम गुरुङले जितेका छन् ।
तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लवले बुधबार आयोजना गरेको प्रतियोगितामा सहभागि ३४ धावकलाई पछाडि पार्दै गुरुङले उपाधि जित्न सफल भएका हुन् ।
व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथन आयोजना गरिएको थियो ।
उक्त म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भएका छन् ।
विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ हाफ म्याराथन गरिएको उनले बताए ।
यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे । प्रतियोगिताको शुभारम्भ गर्दै उनले भने, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो । गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो । त्यसको विकास र प्रबर्द्धनका लागि जुटेका छौ ।”
म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसाबले विकास गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरिएको बताए ।










