म्याग्दे संस्थागत क्षमता स्वमूल्यांकनमा प्रथम, कुन पालिकाले कति पाए अंक ?

दमौली तनहुँको म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको १० पालिकाहरु मध्ये प्रथम हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा तनहुँका स्थानीय तहमध्ये म्याग्दे गाउँपालिका पहिलो भएको हो ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको परिणामअनुसार म्याग्दे गाउँपालिकाले ८५.७५ अंक प्राप्त गर्दै जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ । उक्त मूल्याङकनमा ८५ अंकसहित आँबुखैरेनी गाउँपालिका दोश्रो, ८१.७५ अंकसहित शुक्लागण्डकी नगरपालिका तेश्रो र ८१.२५ अंकसहित व्यास नगरपालिका चौथो भएको छ ।
यस्तै, अन्य स्थानीय तहमध्ये भानु नगरपालिकाले ८०.७५, देवघाट गाउँपालिकाले ७४, भिमाद नगरपालिकाले ७१, ऋषिङ गाउँपालिकाले ६९, घिरिङ गाउँपालिकाले ६७.५० र बन्दीपुर गाउँपालिकाले ६६ अंक प्राप्त गरेका छन् ।
कार्यविधिअनुसार स्वमूल्यांकन १० शीर्षकमा आधारित हुन्छ। जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट र योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय जस्ता सूचकहरू पर्छन् ।
सरकारले स्थानीय तहहरूलाई आफ्नै संस्थागत क्षमता, नीतिगत व्यवस्था, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको गुणस्तर, सबलता र सुधारका पक्ष पहिचान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यसहित यो प्रणाली विकास गरेको हो ।










