गण्डकी सरकारबाट आँबुखैरेनी अस्पतालमा चिकित्सकको व्यवस्था
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा गण्डकी प्रदेश सरकारमार्फत् चिकित्सकको व्यवस्था गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् अस्पतालमा चिकित्सकको दरबन्दी कायम गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए ।
प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा. हरि सेढाइलाई नियुक्त दिएर पठाएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताए ।
उनले भने, ‘अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौ, हाम्रो मागलाई प्रदेश सरकारले सम्बोधन गरेको छ ।’ गाउँपालिकाले यसअघि निजी स्रोतमा एक जना मेडिकल अधिकृत र एक जना कन्सलट्यान्ट डाक्टर नियुक्त गरेको थियो ।










