४३औं बिपी स्मृति दिवस : “बिपीले देखाएको मार्ग अबलम्बन गर्नुपर्नेमा जोड”

तनहुँ : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याएका छन् । विसं १९७१ भदौ २४ गते जन्मिएका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
उनको ४३औं स्मृति दिवसका अवसरमा तनहुँमा आयोजित कार्यक्रममा नेताहरुले जननायक बिपी कोइरालाले देखाएको मार्ग अबलम्बन नगर्दा पार्टी कमजोर भएकोले सच्चिएर हिड्नु पर्नेमा जोड दिएका छन् । व्यास नगरपालिका–३, दमौली स्थित बिपी पार्कमा बिरुवा गोडमेल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बिपीको मार्ग भुलेर व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर भएको बताएका छन् ।
नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले बिपीले देखाएको मार्ग अहिलेपनि उत्तिकै सान्र्दभिक रहेको चर्चा गर्दै उनले बिपीले देखाएको मार्गमा हिँडेमात्रै पार्टी बलियो हुने बताए । सभापति आलेले भने, ‘विपीको प्रजातान्त्रिक समाजवादको दर्शन हालको लागि उत्तिकै महत्व छ उहाँको आर्दश, सिद्धान्त र विचारलाई हामीले भुल्नु हुँदैन ।’
उक्त कार्यक्रममा नेपाली काँग्रेस तनहुँका निर्बतमान सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, नेपाल महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल, महासमिति सदस्यहरु प्रा.डा. कृष्णप्रसाद गौतम, सरिता गुरुङ, नेपाली काँग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले लगायतले बिपीले बहुदल पछि देखिने भविश्यवाणी अनुसार केही व्यक्तिहरु स्वार्थमा लाग्छन् भने झै सत्तामा भुल्दा अग्रगमनमा चुकेको जनताले महशुस गरेकोले सच्चिन नेताहरुलाई आग्रह गरे ।
यस्तै, ४३औं बिपी स्मृति दिवसका अवसरमा विपी विचार समाज तनहुँले दमौलीमा विचार गोष्ठी गरेको छ । ‘वर्तमान नेपालको राजनीतिक सन्दर्भ र बिपीको विचार’ विषयक विचार गोष्ठीमा समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङले विपीले दिएको मार्गदर्शन अनुसार नेपाली काँग्रेस नचलेकाले पार्टीमा राजनीतिक विचलन आएको बताए ।
समाजका केन्द्रीय सदस्य तथा तनहुँका सभापति हरिशरण पण्डित, गण्डकी प्रदेशका पूर्व सचिव परशुराम गिरी, उपसभापति क्या. रेशमबहादुर गुरुङ, सचिव पञ्चबहादुर गुरुङ लगायतले विपीले प्रतिपादन गरेको सिद्धान्त अनुसार काँग्रेस नचलेकोले देश झनै गरीवि र अनिर्णयको बन्दि हुन पुगेको तथा जनताको अवस्था झनै नाजुक बन्दै गएको बताएका थिए ।
कविता प्रतियोगिता
यस्तै, ४३औं बिपी स्मृति दिवसका अवसरमा मंगलबार दमौलीमा कविता प्रतियोगिता तथा रक्तदान कार्यक्रम गरिएको छ । ‘वर्तमान सन्दर्भमा जननायक विपी कोइराला’ शीर्षकमा गरिएको कविता प्रतियोगितामा नारायणी अधिकारी प्रथम, लक्ष्मी पौडेल द्वितीय भएका छन् । विजेतालाई काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले नगद दश हजार र पाँच हजार एवं प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए ।
बिपी स्मृति दिवसमा रक्तदान
४३औं बिपी स्मृति दिवसको अवसरमा तनहुँमा आयोजित रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले व्यास नगरपालिका–३ स्थित कार्यालय परिसरमा गरेको रक्तदानमा १९ जनाले रगतदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानमा पार्टीका नेता तथा कार्यकर्ताले रक्तदान गरेको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। दमौलीमा अस्पतालमा आवश्यक रगतको माग पूरा गर्ने उद्देश्यसहित रक्तदानको आयोजना गरिएको उनले बताए ।










