दुराहरुले बिर्सिदै गएको एउटा मौलिक र रोचक परम्परा “सियो र जिम्ती”

किसान संगीत

लमजुङ जिल्लाको जातिगत तथ्याङ्क केलाउँदा अल्पसंख्यक सूचिमा रहेका जातिहरु मध्ये एउटा जाति हो, दुरा। गुरुङ, मगर, तामाङ, घले लगायतका आदिबासी जनजातिकै सूचिमा सूचिकृत छ दुराजाति । अन्य जातिको तलुनामा दुरा समुदायको संख्या अत्यन्तै न्युन छ। २०७८ सालको जनगणनाको जातजातिगत विश्लेषण पंक्तिकारले प्राप्त गर्न सकेन तसर्थ २०६८ को जनगणनाको जातजातिको विश्लेषणात्मक विवरण हेर्दा देशभरिमा ५३९४ देखिएको दुराजाति लमजुङमा मात्रै ३४८९ रहेको तथ्यांकले देखाएको छ। जिल्लाको कूल जनसंख्याको आधारमा हेर्दा २.९७ प्रतिशत हिस्सा दुरा जातिको रहेको देखिन्छ। सो जातिमा देखिएको घट्दो जन्मदरका कारण पछिल्लो जनगणनाको आधारमा पनि करिब यही तथ्यांक सँग मिल्दो अनुमान गर्न सकिने दुरा सेवा समाजको आँकडा विश्लेषणले जनाएको छ।

यस आलेखमा उठान गर्न खोजिएको विषय भने दुराजातिको संस्कार, संस्कृती, रीतिरिवाज र परम्परासँग सम्बन्धित रहेको छ। लमजुङमा बसोबास गर्ने दुराजातिले मान्ने र अनुकरण गर्ने विविध संस्कार, संस्कृती, रीतिरिवाज र परम्पराहरु मध्ये अत्यन्तै मौलिक, रोचक र रैथाने परम्परा हो ‘सियो राख्ने’ र ‘जिम्ती लेख्ने’। सुन्दा अचम्म लाग्नसक्छ ‘सियो राख्ने’, ‘जिम्ती लेख्ने’। वास्तवमा यहाँका दुरा वस्तीहरुमा यी निकै पुराना उत्तिकै अचम्मका परम्परा हुन्। संस्कार, संस्कृती, रीतिरिवाज र परम्पराका सवालमा दुराहरु निकै धनी छन्। उनीहरुका यस्ता थुप्रै मौलिक परम्पराहरु छन्÷थिए। थिए, यसअर्थमा कि कयौं परम्परा त लोप नै भईसकेको अवस्था छ। दुरा वस्तीहरुबाट हराउँदै, बिलाउँदै र बिर्सिदै गएका थुपै संस्कृती, रीतिरिवाज र परम्पराहरुकै सूचिमा पर्ने अवस्थामा छ, सियो राख्ने र जिम्ती लेख्ने परम्परा ।

दुराजातिको उद्गम वा मूलथलो नै लमजुङ हो भन्ने कुरामा बिमति नै छैन। यहाँको पनि दुराडाँडा क्षेत्रलाई दुराहरुको मूल थलो मानिन्छ। जिल्लाको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेस्वाँरा, बाँसपानी, पाउँदीखोला (मिलनटोल), कोईराला फाँट, नेटा, कुन्छा, तान्द्राङटक्सार, वर्धने, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानीस्वाँरा, भदौरे जस्ता प्राचिन वस्तीहरुमा दुराहरु बसोबास गर्दै आएका छन्। पछिल्लो समय बेसीशहर, सुन्दरबजार, भोर्लेटार, रामबजार, सोतीपसल, दुईपिप्ले जस्ता बजारक्षेत्रमा पनि उनीहरुको बसोबास रहेको छ ।

जिल्ला बाहिर गएर बस्नेहरु त काठमाडौं, पोखरा, चितवन लगायतका धेरै ठाउँमा उनीहरुको फैलावट देखिन्छ। यहाँ तिनै प्राचिन बस्ति र त्यहाँ हुँदै आएका परम्परागत रैथाने अभ्यासहरु मध्यको सियो र जिम्तीकै चर्चा गरौं। विगतमा यहाँ उल्लेखित सबैजसो बस्तीहरुमा यो परम्परा मान्ने गरेको पाईन्छ तर आजकल ति मध्येका थोरै गाउँवस्तीमा मात्रै सियो र जिम्तीको रहलपहल अभ्यास पाउन सकिन्छ। दुराहरुले बिर्सिँदै गएको यो परम्परा केहीवर्षमा नै लोप हुनसक्ने देखिन्छ। भीरमा अडिएको ढुंगा जस्तै अत्यन्तै धरापमा देखिन्छ सियो र जिम्ती परम्परा ।

समय र सन्दर्भका हिसाबले हेर्दा सियो राख्ने र जिम्ती लेख्ने बेला यतिबेलै तिर हो। कृष्ण जन्माष्टमीदेखि तीज पर्वसम्मको समयसीमा भित्रै यो परम्परा मनाईन्छ। यद्यपी सियो राख्ने कार्य चैं ठ्याक्कै यही तिथि र मितिमा गर्नुपर्छ भन्ने छैन। तर जिम्ती लेख्ने कार्य भने जन्माष्टमीदेखि तीजको दर खाने दिनसम्म गर्ने गरेको पाईन्छ । यस सन्दर्भमा दुराजातिका इतिहासदेखि भाषा, धर्म, परम्परा लगायतका थुप्रै पाटोमा अध्ययन, खोज अनुसन्धान गर्दै आएका अध्येता प्राध्यायपक यमबहादुर दुराले आफ्नो पुस्तक ‘दुरा इतिहास र संस्कृति’मा सियो र जिम्ती परम्परालाई संक्षिप्त रुपमा यसरी चिनाएका छन् :

दुरा समुदायमा प्रचलित रोचक परम्परा मध्येको एक हो सियो राख्ने परम्परा। समग्रमा भन्दा सियो राख्ने चलन गाउँका किशोर किशोरीको पुनः नामाकरण प्रकृया सँग सम्बन्धित छ। दुरा समुदायमा जन्मिने बच्चाको दुईपटक नामाकरण गरिन्छ। पहिलो पटकको नामाकरण अभिभावकले गर्छन्। पण्डित वा झाँक्री वा लामा पुरोहित सँग हेरखोर गराएर बालबच्चाको नामाकरण गरिन्छ। दोस्रोपटकको नामाकरण गाउँका अग्रज दाइ दिदीहरुको झुण्डले गर्छ ।

पहिलो र दोस्रो पटक नामाकरण गर्दा अपनाईने विधि र प्रकृया पनि फरक फरक छन्। पहिलो पटकको नामाकरण बच्चाको जन्मकुण्डलीको आधारमा गरिन्छ भने दोस्रो पटकको नामकरण गर्दा व्यक्तिको रुप रङ्ग र स्वाभावको आधारमा नाम राखिन्छ। जसमा अभिभावकको कुनै भूमिका रहँदैन । यस प्रकृयामा गाउँका अग्रज दाइ दिदीहरुको मुख्य भूमिका रहन्छ । पहिलो र दोस्रो पटक नामाकरण गर्ने प्रकृयामा अर्को पनि भिन्नता छ। पहिलो पटक बच्चा जन्मिएपछि नाम राखिन्छ भने दोस्रोपटक सम्बन्धित व्यक्ति किशोरावस्थामा प्रवेश गर्दै गर्दा राखिन्छ। यसप्रकार दोस्रो पटक नामाकरण गर्ने कार्यलाई नै ‘सियो राख्ने’ भनिन्छ। गुरुङ समुदायमा यसलाई ‘चे राख्ने’ भन्ने गरिएको छ ।

अघि नै भनियो दोस्रो पटक नामाकरण गर्दा सम्बन्धित व्यक्तिको रुप रङ्ग र स्वभावलाई ख्याल गरिन्छ। उदाहरणका लागि गम्मक परेर बस्ने केटा वा केटीलाई क्रमशः गम्केसै र गमह्रानी (गमरानी) सियो राखिन्छ। यसैगरी फूलजस्तै सुन्दर केटा र केटीलाई क्रमशः फूलसै र फूलह्रानी भनिन्छ। सियोको सूचि अझै लम्बिन्छ। कालो वर्णको केटा र केटीलाई श्यामसै र श्यामह्रानी भनिन्छ। डाल देखाएर हिड्ने केटा र केटीलाई डालसै र डालह्रानी भनिन्छ। दिलदार केटा र केटीलाई दिलसै र दिलह्रानी भनिन्छ। यसैगरी जूनजस्तै सुन्दर केटा र केटीलाई क्रमशः जुनसै र जुनह्रानी भनिन्छ। सियोको सूचि यत्तिमै सकिँदैन। शीतलु स्वभावका केटा र केटीलाई शीतलसै र शीतलह्रानी, मान खोज्ने केटा र केटीलाई मानसै र मानह्रानी, रामरसी (रङ्ग–रेशम) मन पराउने केटा र केटीलाई रामसै र रामह्रानी सियो राखिन्छ। यस बाहेक पूर्व उल्लिखित नियमसँग मेल नखाने सियो पनि दुरा समुदायमा प्रचलित छ। जस्तोः दैह्रानी, मैह्रानी, रेलसै, सुनसै, बेलह्रानी आदि।

यसरी नामाकरण गरेपछि चेलीबेटी–माईतीको वृतमा त्यही प्रचलित रहन्छ र सोही नामले नै बोलाईन्छ। घरमा भने पुरानै नामले बोलाईन्छ। तर कतिपयको उपनाम (सियो) सर्वपरिचित र सर्वव्यापक बन्छ। समाजको फराकिलो घेरासम्म फैलिन्छ। अन्ततः ऊ जीवनभर त्यही सियोबाट परिचित बन्न पुग्छ। यस्तो अवस्थामा सम्बन्धित व्यक्तिको खास नाम विलुप्त भई उपनाम (सियो)बाट समाजमा चिनिन पुग्छन्। अहिले पनि दुरा समुदायमा सियो (उपनाम)ले चिनिएका कतिपय बुढापाकाहरु छन्। जस्तैः श्यामसै, रामसै, डिलसै, गैह्रानी, ख्यालसै, जुनह्रानी आदि। कतिपय श्रीमान् श्रीमती नै समाजमा सियोले चिनिन्छन्। जस्तैः गौंसै–गौह्रानी। यो जोडी हाल दिवङ्गत भईसके पनि उनका शाखा सन्तान तिनै बाजेबज्यैको सियोबाट चिनिन्छन्।

किशोर–किशोरीको सियो राख्ने कार्य तीजको दरखाने बेलामा गरिन्छ, जुनकार्य गाउँका तन्नेरी तरुनी रोदीघरमा भेला भई गरिन्छ। यद्यपी, यो कार्य तीजमै र रोदीघरमै हुनुपर्छ भन्ने चाहीँ छैन। मेलापात तथा अन्य अवसरमा पनि सियो राख्ने कार्य हुनसक्छ। यस अवसरमा रोदीघरको पिँढीको भित्तामा चित्रकला बनाईन्छ, जसमा सर्प बिच्छी गँगटो र जुन–घामको चित्र कलात्मक किसिमले बनाईन्छ। त्यसैमा सबै तन्नेरी तरुनीको नाम (सियो) लेखिन्छ। यसलाई जिउँती (जिम्ती) लेख्ने भनिन्छ। कसैकसैले यसलाई जीवनीको अपभ्रंश रुप मान्छन्। रोदीघरमा सियो राख्ने बेलामा नाचगान र रङ्ग रेशमको माहोल तयार हुन्छ। दुरा समुदायका अतिरिक्त गुरुङ समुदायमा पनि सियो राख्ने चलन छ। यस प्रकृयालाई गुरुङ समुदायमा चे भन्ने गरिन्छ ।

अगाडी नै नाम राखिसकिएको अवस्थामा दोस्रो नामको रुपमा सियो किन राखिन्छ ? यसका पछाडी सामाजिक मनोविज्ञान लुकेको छ ? अध्ययन र विश्लेषण हुन बाँकी छ। नेपाली समाजको सांस्कृतिक अध्येताहरुले पनि सियो राख्ने परम्परा बारे खासै खोज अनुसन्धान गरेको पाईंदैन। तर यसबारे थप खोज अनुसन्धान हुनु अगावै यो परम्परा इतिहास बनिसकेको छ। त्यसको ठाउँमा विदेशी शैलीको नाम राख्ने चलनले स्थान लिईसकेको छ। (समाप्त) अध्येता दुराको यो सांस्कृतिक चिनारी सँगै पुनः जोडिउँ पंक्तिकारले उठान गरेका यसका अन्य पाटा र पक्षहरुमा। झण्डै एकदशक यता दुराजातिका भाषा, लिपी, रीतिथिति, संस्कार संस्कृतीसँगै पर्यटन र आयआर्जनका उपाय जस्ता विषयमा समाचार एवं लेखरचना लेख्दै आईएको छ। सोही नाताले गतवर्ष पंक्तिकारलाई सुन्दरबजार नगरपालिका ११ ठूलोस्वाँरा हर्राबोटका दुरावस्ती बाट सियो राख्ने र जिम्ती लेख्ने कार्यक्रमको निम्तो आयो। कृष्णजन्माष्टमीको अघिल्लो दिन हर्राबोट पुगियो। दुरागाउँका आमा, दिदीबैनीको न्यानो आतित्थ्य सँगै सुरु भयो परम्परागत रैथाने कामहरु। त्यसदिन चेलीबेटीहरुले गाउँका दाजुभाईहरुलाई निम्तो गरेका। माछामासु, अचार, कोदोको रक्सी आदिले दाजुभाई र हामी पाहुनालाई मेजमानी दिईयो। हामी पत्रकारहरु, वडाध्यक्ष ओमशिरिष दुरा लगायत जनप्रतिनिधि र गाउँबाट पोखरा चल्ने बसका चालक अनि सहचालकहरु पाहुना भयौं।

यसरी मिठोमसिनो खुवाउने कार्यलाई दाजुभाई बाँध्ने भनिँदो रैछ। खाना खाँदै चेली माईती विच हाँसोठट्टा गर्दै दाजुभाईको उपनाम (सियो) राखिने रैछ। चेलीबेटीले हामी पाहुनाहरुको समेत सियो राख्न भ्याए। पंक्तिकारको सियो रामसै भयो। दाजुभाई बाँध्ने र सियो राख्ने क्रममा बिर्सिनसक्नु रमाईलो भयो। खानपिन सकिए पछि अर्को रमाईलो भयो, गीतबात र नाचगान। स्थानीय भाखा र लयमा खूव मिठा र रमाईला गीत सुनियो, गाईयो। रातभरि जस्तै दोहोरीको खाल जम्यो। गाउँकै कुसुम दुरा र आसमान विकको समुहविच कहिले रमाईला त कहिले मायाप्रेमका, कुनैबेला मिलनका त कुनैबेला बिछोडका गीतहरु गुञ्जिईरहे। माईतीचेली र पाहुनाहरु नाचगान गर्ने आफुसक्दो दानभेटी खसाल्ने र फूल लगाउने काममा मस्त। साँझमा राखिएका सियो (उपनाम) ले नै बोलाईयो रातभर र भोलिपल्ट पनि। अध्येता यमबहादुर दुराले उल्लेख गरिसक्नु भएकै छ । सियो राख्न एउटै भेट भन्दा पनि लामोसमय देखि गाउँठाउँमा उसको आनीबानी, स्वभाव, शैली आदिको हेमपेम पाईसकेपछि मात्रै उसको सहीअर्थमा सियो राख्न सकिने हुन्छ। मेलापात, बनपाखा र धारापँधेरा गर्ने क्रममा पनि सियो राखिदिने काम हुनसक्छ। त्यो दिन हामी पाहुनाको सियो राखिएको त केवल रमाईलोका लागि र त्यो बसाईको औपचारिकताका लागि मात्रै न थियो।

त्यो रात सबैले खानपान गरेपनि एक युवा र एक युवती भने उपबास (ब्रत) बस्छन्। उनीहरु शिव र पार्वतीको रुप। उनीहरुलाई पुजा गर्ने, घिरौंलाको पशुचौपाय स्वरुप बनाएर बलिदिने र पाका पुरानाहरुले भोलिपल्ट जिम्ती घरको भित्तामा चामलको पीठो र रंगहरुले जिम्ती लेख्ने गर्छन्। जिम्तीमा शिव–पार्वती, चन्द्रसुर्य, रैथाने मौसमी फलफूल, बाघ, सर्प, विच्छी, भ्यागुतो, खजुरो, गँगटो आदिको चित्र बनाईन्छ। ति आकृतिको दाँयाबाँया छेउमा लहरै लेखिन्छन् सियो अर्थात् उपनामहरु। जिम्तीको मुख्य काम र आकर्षण त्यही भित्तेलेखन हो। भित्तामा देवता, फलफूल र जीवजनावरको चित्र बनाउनुको मुख्य कारण भने प्रकृति पुजा नै हो। भगवानले रक्षा गरुन्, फलफूल र खेतिपातीमा रोगव्याधी नलागोस्, जीवजनावरले बालीनाली, पशुचौपाय र गाउँलेहरु कसैलाई हानी नोक्सानी नपुर्याउन् भन्ने मनोकाँक्षका साथ ति सबैप्रतिको सम्मान हो। भक्तिभाव हो। समग्रमा यो प्रकृया चैं प्रकृतिपुजा सँगै सम्बन्धित छ भनेर मानिएको छ ।

जन्माष्टमीमा बाँधेर राखेका दाजुभाईले चेलीबेटीलाई तीजको दर खान उसैगरी निम्ता गर्नेरैछन्। त्यो साँझमा पनि उसैगरी हाँसोमजाक, ठट्टा र रमाईलो गर्ने चलन। कतिपय वस्तीमा चै सियो राखेको दिनमा नभई जिम्ती लेखनको काम यही दरखाने दिनमा पनि गरिने रैछ। चेलीबेटीले माईतीलाई र माईतीले चेलीबेटीलाई संझिने मायाप्रेम सद्भाव र सम्मान गर्ने कस्तो गज्जव अनि लोभलाग्दो चलन दुराजातिको। यसरी दुवैपक्षले एकापसमा निम्तिने, प्रेम र मानसम्मानका साथ खानपिन गराउने मौलिक अभ्यासले अवश्य पनि चेलीमाईती विचको सम्बन्ध सँधै आत्मिय र सुमधुर रहिरहन्छ भनेर यसलाई मान्न सकिन्छ। तर पछिल्लोसमय यति मौलिक र रोचक परम्परा अधिकाँश वस्तीबाट हराईसकेको थाहा पाउँदा मन थै थै भएको छ। हाम्रो समाजमा नयाँ र आयतित परम्परा हावी भईरहँदा यसलाई निरन्तरता दिने विषयमा दुरा समुदायमा छलफल, बहस र अन्तर्कृया हुनु जरुरी छ। बसोबासका हिसाबले दुराहरुको फैलावट जहाँसम्म पुगेपनि त्यहाँ यसलाई ब्युँताउने प्रयासको थालनी हुनु जरुरी छ ।

नेपालमा दुराजातिको कूल संख्याको ७२ प्रतिशत दुराहरुको बसाई लमजुङमै रहेको आँकडा दुरा सेवा समाजले प्रस्तुत गरेको छ। त्यसपछि क्रमशः तनहुँमा १६, चितवनमा ६, कास्कीमा ३ र अन्यत्र ३ प्रतिशत दुराहरुको बसाई रहेको देखिन्छ। विदेशको आँकडा हेर्दा बेलायतमा दुरा जातिका बाक्लो उपस्थिति रहेको छ। यो परम्परालाई दुरा जातिले एउटा पर्वविशेषका रुपमा मात्रै नभई गाउँपर्यटन वा घरबास (होमस्टे) पर्यटन सँग जोडेर आम्दानीको नयाँ उपायका रुपमा समेत जोड्न सक्ने देखिन्छ। ठुला दुरावस्तीहरुमा घरबास कार्यक्रम सञ्चालन गर्ने र सियो र जिम्तीलाई एउटा नयाँ प्याकेजका रुपमा पर्यटन बजारमा बेच्न सके यसको संरक्षण सँगसँगै आम्दानी पनि हुनसक्छ। तुर्लुङकोट जस्ता होमस्टे सञ्चालित गाउँ र ठूलोस्वाँरा जस्ता ठूला गाउँवस्तीहरुमा यसको सहज र बलियो संभावना छ। वैदेशिक आँकडा हेर्दा करीब ९१ परिवारका २७० जना दुराहरु बेलायतमा बसोबास गर्दैआएका छन्। त्यहाँ समेत सियो र जिम्तीलाई व्युँताउन सकिन्छ। त्यसो गर्न सकेको खण्डमा विेदेशमा समेत नेपाली संस्कृति, परम्परा र सिंगो दुराजाति लाई चिनाउन सकिन्छ। संस्कृति संरक्षण र दुराजातिको पहिचान फराकिलो बनाउन सकिने भएकाले यसतर्फ विदेशमा रहेका दुराजातिले चिन्तन मनन् गर्नु आवश्यक छ ।

जुनसुकै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति र परम्परा आफैंमा मौलिक र सह्रनीय हुन्छन्। वर्षभरिमा प्रत्येक महिनाजसो चाडपर्व मनाउँदै आएका हामी नेपालीहरुको पहिचानको महत्वपूर्ण माध्यम नै हाम्रा रीतिरिवाज, संस्कृति र परम्परा हुन्। तसर्थ तिनको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र हस्तान्तरण जस्ता पक्षहरु निकै महत्वपूर्ण छन् भन्ने हामीले समयमै बुझ्नुपर्छ। आज हामीले बुझेनौं भने नयाँ पुस्तालाई बुझाउन र हस्तान्तरण गर्न संभव छैन। अनि आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र परम्परा नै नपाएको र नबुझेको हाम्रो नयाँ पुस्ता र त्यसपछिको भावी पुस्ता कस्तो बन्ला कस्तो रहला? कुन पहिचानका साथ बाँच्ला? के हामी यी प्रश्नहरुप्रति गम्भीर छौं ? के हामीले आजै यी प्रश्नहरुको जवाफ खोज्नु पर्दैन र? (लेखकः नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker