थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए

तनहुँ : जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् । तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एक/एक गरी ८६ फूलका डोली भित्र्याइएको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकैदिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।”

कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिदैन । विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठूलो मेला लाग्ने र अन्य महिनामा भने सामान्य हुने गरेको सो समितिले जनाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न ठाउँबाट भक्तजन पूजाअर्चनाका लागि यहाँ आउने गर्दछन् ।

भक्तजनले फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ ।

आज मन्दिरमा फूलको डोली चढाउनेको भीड लागेको थियो । भक्तजनले चढाएको भेटी र दान गरी आज मात्र करिब रु ९० हजार सङ्कलन भएको मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाले बताउनुभयो ।

हाल मन्दिरसम्म पुग्ने सडक निर्माण गरिएकाले भक्तजनको सङ्ख्या पनि बढ्न थालेको छ । यस्तै, समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मीबजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खला देख्न पाइने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker