आदिकवि भानुभक्त क्याम्पसको आधुनिक भवन निर्माणका लागि शिलान्यास

दमौली : तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले आधुनिक भवन निर्माण कार्य अगाडि बढाएको छ । क्याम्पसले विहीबार एक कार्यक्रमको आयोजना गरी आधुनिक शैक्षिक भवनको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीबाट शिलान्यास गराएको छ ।
शिलान्यास कार्यक्रममा अध्यक्ष प्राडा. अधिकारीले क्याम्पसको गुणस्तरीय शिक्षाको आधार भौतिक पूर्वाधार नै भएकाले समयमै, पारदर्शी र गुणस्तरीय ढङ्गमा काम सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरे । अधिकारीले भने, “शिक्षण–अध्ययनको प्रभावकारिता बढाउन आवश्यक पूर्वाधार विस्तार अपरिहार्य छ । समयमै गुणस्तरीयढंगले भवन निर्माण कार्यक्र सम्पन्न गर्नु हामी सबैको दायित्व हो ।” समुदायसँगको सहकार्यमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने उनले प्रतिबद्धता जनाएका छन् ।
यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले क्याम्पसलाई आधुनिक, प्रतिस्पर्धी र अनुसन्धानमैत्री शिक्षण संस्थामा रूपान्तरण गर्ने दीर्घकालीन योजनाअन्तर्गत यो भवन महत्त्वपूर्ण उपलब्धी बन्ने विश्वास व्यक्त गरे ।
क्याम्पसको भौतिक पूर्वाधार विस्तारका लागि करिब १ करोड २८ लाख रुपैयाँको लागतमा आधुनिक शैक्षिक भवन निर्माण गर्न लागिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । उनका अनुसार भवन निर्माणमा विश्वविद्यालय अनुदान आयोगको ६६ प्रतिशत बाँकी क्याम्पसको लगानी रहनेछ ।
भवन चार तले २४ कोठाको हुने छ । आगामी वर्षदेखि होटल म्यानेजमेन्ट विषय क्याम्पसले थप गर्न लागेकोले भवन निर्माणले सहज हुने क्याम्पस प्रमुख हड्खलेले बताए। भवन निर्माणको ठेक्का फुलजोरे–अमर–तारा–जेभी, काठमाडौंले पाएको छ । क्याम्पसका अनुसार परियोजना आगामि चैत्र ३० भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।










