आम निर्वाचन २०७९ : सम्पर्क कार्यालय स्थापना गरी निर्वाचन गतिविधि अगाडि बढाउन थाले तनहुँका उम्मेदवारहरुले

भञ्ज्याङ समाचारदाता/तनहुँ

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँका राजनीतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले आ-आफ्नो निर्वाचन सम्पर्क कार्यालय खोल्न थालेका छन् । निर्वाचन सम्पर्क कार्यालय खोली उम्मेदवारहरुले आ-आफ्नो पक्षमा मत माग्दै निर्वाचन लक्षित गतिविधि अगाडि बढाउन थालेका छन् ।

तनहुँका दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्तगरेसंगै अहिले चुनावी तयारीमा जुटेका छन् । नेकपा (एमाले)ले दुबै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय खोल्ने तथा नगर कमिटी, गाउँकमिटी तथा वडा कमिटी भेला गरी चुनावी तयारीमा जुटेको छ ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ ले विहीबार भानु नगरपालिकामा नगरकमिटी बैठक गरेको छ भने क्षेत्र नं. २ ले पनि शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय तथा कार्यकर्ता भेला गरी निर्वाचन गतिविधि अगाडि बढाएको छ ।

नेकपा (एमाले) शुक्लागण्डकी-८ ले पाटनमा तनहुँ क्षेत्र नं. २ प्रदेश सभा (क) को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका तनहुँ क्षेत्र नं. २ प्रदेश सभा (क) का उम्मेदवार श्यामराजा महतले कार्यालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उम्मेदवार महतले ढोर क्षेत्रबाट पहिलोपटक संसदीय राजनीतिमा जाने मौका मिलेको बताउँदै यस क्षेत्रका जनताले अत्याधिक महतले विजयी गराउने विश्वास व्यक्त गरे । उनले जनताको जनजिविका, भ्रष्टचार विरुद्ध आवाज उठाउने र निति निर्माणका लागि आफ्नो मुख्य भूमिका रहने प्रष्ट पारे ।

उनले यस क्षेत्रको सम्मुनत विकासकालागि पाँच वर्षको कार्यकालमा समर्पित रहने उल्लेख गर्दै भने, ‘मलाई प्रदेश सभामा पठाउनुहोस, मतदाताको शिर निहुराउने काम नगरी, इज्जतका साथ आउनेछु ।’

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाले गठबन्धनको सरकार बनेपछि देशमा अस्थिरता आएको बताए । ‘परमादेशको आदेशले एमालेका सरकार ढल्यो,’ उनले थपे, त्यसपछिका समय हेर्नुस त, सरकार जोगाउने मात्र खेल छ । देशमा स्थिरता र समृद्ध नेपाल निर्माणको लागि एमाले सरकार अपरिहार्य छ ।’

२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार माओवादी नेतृ आशा कोइरालाले कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेललाई सो क्षेत्रमा ५ मतको अन्तरले पराजित गरेकी थिइन् । अहिले कांग्रेस नेता पौडेल काठमाडौं-५ बाट उम्मेदवार भएर चुनावमा होमिएका छन् ।

यसअघि माओवादी केन्द्रले जितेको सो क्षेत्रमा यसपटक पनि सत्ता गठबन्धनको तर्फबाट माओवादीका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमाले शुक्लागण्डकी-८ वडा कमिटी अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुल बहादुर भुजेलले गरेका थिए ।

तनहुँ विकासको जिम्मा हामी लिन्छौ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताएका छन् । व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा विहीबार दर्शनपछि स्थानीयसँगको भेटघाटमा उनले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरूले लिने बताएका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत निर्वाचनमा कांग्रेस हार्दा जिल्लाको विकास रोकिएकाले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अपरिहार्य रहेको बताए ।

विगतको निर्वाचनका आफू देशव्यापी लाग्नुपर्दा तनहुँका जनतामा भ्रम उत्पन्न भई निर्वाचन हारे पनि यसपटक तनहुँका जनताको साथ आफूलाई प्राप्त हुने पौडेलले विश्वास व्यक्त गरे । ‘देशलाई सुशासन चाहिएको छ, राजनीतिक स्थिरता चाहिएको छ, नेपालको अनुकूल विकास चाहिएको छ’, पौडेलले भने, ‘त्यो कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ ।’

जिल्लामा कांग्रेसकै नेतृत्वमा थुप्रै विकास भएपनि विकास भएन भनेर विपक्षीले अनावश्यक प्रचार गरेको आरोप लगाउँदै पौडेलले भने, ‘जनतालाई भ्रमको सिकार बनाइयो, गाउँ-गाउँमा विकास पुगेको छ, सडक पुगेको छ, अब कालोपत्र गर्र्छौ।’

यस्तै, नेता पौडेलले सत्तारूढ गठबन्धनको दुइ तिहाइ बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले विहीबार बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुइ तिहाइ बुहमत ल्याउनैका लागि गठबन्धन भएको स्पष्ट पारे ।

‘संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसंख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य छ’, उनले भने, ‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले जनताको लामो संघर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं. १ को २ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताए ।

निर्वाचन कार्यालय उदघाटनसँगै जोशीको चुनावी अभियान सुरु

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्दराज जोशीले निर्वाचन लक्षित सम्पर्क कार्यालय स्थापना गरेका छन् । व्यास-२ स्थित बालमन्दिर मावि अगाडी खोलिएको कार्यालयको बिहीबार जोशीले उदघाटन गरे ।

कैची चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका जोशीले कांग्रेसमा बढेको विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउन प्रतिनिधिसभामा उम्मेदवार बनेको बताए ।

कांग्रेस बिसर्जनको बाटोमा अगाडी बढेको भन्दै उनले भने, ‘कांग्रेसमा विकृति र विसंगति बढेको छ ।’ कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, सुकुम गुरुङ, कमलभक्त पोख्रेल, इन्द्र दरै लगायतले यस पटक जोशीलाई अत्याधिक मत सहित विजयी गराउनुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker