प्रेस चौतारीको पत्रकारिता पुरस्कार उपाध्यायलाई, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

तनहुँ : प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता पुरस्कारबाट संस्थाका संस्थापक अध्यक्ष तारानाथ उपाध्यायलाई दिने निर्णय गरेको छ। प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा विहीबार बसेको वैठकले हरेक वर्ष वितरण गर्दे आएको पत्रकारिता पुरस्कार उपाध्यायलाई दिने निर्णय गरेको हो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल उपाध्यायले पत्रकारिताको क्षेत्रमा विगतमा खेल्नुभएको भुमिकालाई सम्मान गर्दै पुरस्कार दिने निर्णय गरेको हो । प्रेस चौतारीलाई तनहुँमा स्थापना कालमा स्थापित गराउन महत्वपूर्ण भुमिका खेलेका उपाध्यायलाई सम्मान पत्र र रु १० हजार नगद सहित पुरस्कृत गर्न लागिएको संस्थाले बताएको छ ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता क्षेत्रमा संस्थागत योगदान दिएको पत्रकारहरुलाई सम्मान गर्दे आईरहेको छ । यस अघि पनि प्रेस चौतारी नेपाल तनहुँ शाखाले पूर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, विश्ववन्धु भण्डारी, त्रिभुवन श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, पत्रकार वसन्ती वास्तोला, शाखाका उपाध्यक्ष कृष्णचन्द्र न्यौपाने पुरस्कृत भईसकेका छन्। सो पत्रकारिता पुरस्कार कुनै विशेष कार्यक्रमको अवसरमा प्रदान गरिने प्रेस चौतारी नेपाल तनहुँ शाखाले जनाएको छ ।
२८औं स्थापना दिवस मनाइयो
यस्तै, प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापनाको २८औं स्थापना दिवसका अवसरमा व्यास नगरपालिका–५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा संचालित जेष्ठ नागरिक चौतरी वृद्धाश्रममा फलफुल वितरण गरि मनाएको छ । संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा भएको सो कार्यक्रममा जनउत्तरदायी कार्यक्रम अन्तर्गत वृद्धाश्रममा रहेको वुवाआमाहरुलाई फलफुल वितरण स्थापना दिवस मनाएको हो ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड
यस्तै, प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । चौतारीका महासचिव हिरामान लामाले जारी गरेका शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिइएको छ ।
“नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी, सूचना प्रवाहभन्दा व्यापार र सूचना–प्रविधिको उपयोगभन्दा दुरुपयोग बढ्दो मात्रामा देखिनु चिन्ताजनक यथार्थ बनेको छ”, सन्देशमा भनिएको छ, “यस सन्दर्भमा सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल संरचना सुदृढीकरण, दक्ष जनशक्ति विकास र आधुनिक सञ्चार संयन्त्र विस्तार हाम्रो प्राथमिकता हो ।”
चौतारीले डाटा सुरक्षा, डिजिटल अर्थतन्त्रको न्यायोचित विकास र राष्ट्रिय स्वाधीनताको रक्षामा नीतिगत सतर्कता अपरिहार्य भएको र सञ्चार तथा सूचना–प्रविधिको जिम्मेवारीपूर्ण प्रयोगले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गरेको छ ।
मुलुकमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता संरक्षण र उचाइमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याउनुहुने संस्थापक अध्यक्ष स्व विजय चालिसे र स्व अग्नि शिखालगायत सबैप्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।
विसं २०५५ मङ्सिरमा आयोजित भेलाद्वारा गठित तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।










