ओली–लेखक पक्राउ : म्याद थप बहस सुरु

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनासँग सम्बन्धित घटनामा पक्राउ परेका दुवै जनाको म्याद थपको बहस सुरु भएको हो । गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो ।
लेखकलाई आइतबार बिहानै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट ‘भिडियो कल’मा इजलाससमक्ष उपस्थित गराइएको छ ।
उनीहरुको म्याद थपको पेसी जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओली र लेखकलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्नुपर्ने सरकारी पक्षको माग छ ।
दुवै बन्दीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता तथा सांसद खम्मबहादुर खाती र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरिसकेका छन् । यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, गोपालकृष्ण घिमिरे र शेरबहादुर केसी लगायतले बहस गर्ने भनी नाम टिपाएका छन् ।










