आँवुखैरेनीको प्युघरमा एकीकृत सेवा शिविर

आँवुखैैरेन : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका–६ प्युघरमा एकीकृत सेवा शिविर सञ्चालन गरेको छ । घुम्ति शिविरमा गाउँपालिकाको योजना, कृषि, पशु सेवा तथा स्वास्थ्य शाखासँगै आँबुखैरेनी अस्पताल र वडा कार्यालयबाट विभिन्न सेवा प्रदान गरिएको थियो ।
शिविरमा स्वास्थ्यतर्फ ७६ जनाको ओपीडी जाँच, ७२ जनाको सुगर परीक्षण र ७२ जनाको भिडियो एक्स–रे गरिएको थियो। स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, पशु सेवातर्फ ३१ भैँसी, ६४ गाई/गोरु, ३३३ बाख्रा, ८४० कुखुरा, ३ सुँगुर र ८ कुकुर गरी १ हजार २७९ पशुपन्छीको स्वास्थ्य परीक्षण गरिएको थियो। पशुपन्छीमा लाग्ने आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, कुकुरमा रेबिज खोप तथा विभिन्न रोग र स्वास्थ्य समस्याबारे कृषकलाई परामर्श दिइएको थियो ।
योजना तथा प्राविधिक सेवाअन्तर्गत आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने प्युघर–सेप्राङ मोटरमार्ग स्तरोन्नति, प्युघर गुम्बा स्तरोन्नति, प्युघर खानेपानी तथा प्युघर शहरी स्वास्थ्य केन्द्र जाने सडक निर्माण गरी चार योजनाको स्थलगत सर्वेक्षण गरिएको थियो। सम्बन्धित उपभोक्ता समितिसँग योजना कार्यान्वयनबारे छलफल समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि सेवातर्फ धानबालीमा देखिने रोग तथा कीरा नियन्त्रणबारे कृषकसँग छलफल तथा परामर्श गर्नुका साथै कृषि सामग्रीसमेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवासमेत उपलब्ध गराइएको थियो। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडा नं. ६ का ६० जना लाभग्राहीको नवीकरणसमेत शिविरबाटै सम्पन्न गरिएको थियो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको संयोजकत्वमा सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका शाखा प्रमुख, पशु चिकित्सक, विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारी स्थलगत रूपमा खटिएका थिए ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराई सेवा लिन लाग्ने समय, खर्च र झन्झट न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अध्यक्ष चुमानले बताए। सार्वजनिक सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता एकीकृत सेवा शिविरलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।










