भानु नगरपालिकामा ८८ गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण

भानु : भानु नगरपालिकाभित्र रहेका ८८ जना गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ। सामाजिक विकास कार्यक्रमको आयोजनामा, भानु नगरपालिकाको समन्वय तथा सानिमा बैंकको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
गर्भवती महिला तथा गर्भस्थ शिशुको स्वास्थ्य अवस्था सुदृढ बनाउन र पोषणको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नं. १ देखि ६ सम्मका गर्भवती महिलाहरूलाई लक्षित गरी २०८३ साल जेठ ३ र ४ गते सम्बन्धित वडाहरूमा पोषणयुक्त खाद्यान्न वितरण गरिएको जनाइएको छ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराई, सानिमा बैंकका प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका प्रतिनिधि, दमौली शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो। साथै सम्बन्धित वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख त्रिपाठीले गर्भवती महिलाको स्वास्थ्य र पोषणमा गरिएको लगानी स्वस्थ समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
सानिमा बैंकका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको स्वास्थ्य प्रवर्द्धन तथा पोषण सुधारमा सहयोग गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरेका थिए।
भानु नगरपालिकाले गर्भवती महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमबाट गर्भवती महिलाहरूलाई आवश्यक पोषणयुक्त खाद्यान्न उपलब्ध भई उनीहरूको स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको नगरपालिकाले जनाएको छ।









