पुस्तक समिक्षा – स्मृति, संघर्ष र समाजसेवाको जीवन्त दस्तावेज : मुरलीमोहन काफ्लेको ‘पल्टिएका पानाहरू’
हुतमणि अधिकारी

आत्मकथा वा संस्मरण केवल कुनै व्यक्तिको जीवनकथा मात्र होइन, त्यो एउटा समय, समाज र पुस्ताको साक्षी पनि हो । त्यसैले यस्ता कृतिहरूले लेखकको व्यक्तिगत अनुभवलाई मात्र अभिव्यक्त गर्दैनन्, समाजको इतिहास, संस्कृति र परिवर्तनको यात्रालाई समेत अभिलेखीकरण गर्छन् । शिक्षाविद्, समाजसेवी, सहकारी अभियन्ता, पत्रकार तथा लेखक मुरलीमोहन काफ्लेको ‘पल्टिएका पानाहरू’ यस्तै प्रकृतिको महत्त्वपूर्ण कृति हो, जसले एक व्यक्तिको जीवनयात्रासँगै ग्रामीण समाजको सामाजिक, शैक्षिक र संस्थागत विकासको इतिहासलाई पनि समेटेको छ ।
करिब १३६ पृष्ठको यस कृतिमा लेखकले आफ्नो बाल्यकालदेखि शिक्षण सेवा, शिक्षा प्रशासन, सहकारी आन्दोलन, पत्रकारिता, सामाजिक अभियान, राजनीतिक सहभागिता, काठमाडौं बसाइ तथा वैदेशिक यात्रासम्मका अनुभवलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । घटनाहरूलाई कालक्रमअनुसार संयोजन गरिएकाले पुस्तक पढ्दा लेखकको जीवनयात्रा सहज रूपमा पछ्याउन सकिन्छ ।
पुस्तकको उल्लेखनीय विशेषता यसको अभिलेखीय महत्त्व हो । परिवारका सदस्य, आफन्त र सहकर्मीका शुभकामना, संस्मरण तथा मूल्याङ्कनसँगै दुर्लभ तस्बिर, नियुक्तिपत्र, सरुवा, बढुवा, सम्मानपत्र तथा विभिन्न सामाजिक गतिविधिसँग सम्बन्धित दस्तावेजहरू समावेश गरिएकाले यो कृति आत्मसंस्मरण मात्र नभई सामाजिक इतिहासको स्रोत सामग्रीका रूपमा पनि उभिएको छ ।
पुस्तकको आरम्भमै लेखकले ‘सर्वे भवन्तु सुखिनः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मानवीय आदर्शलाई आफ्नो जीवनदर्शनका रूपमा प्रस्तुत गर्नुभएको छ । इमानदारी, अनुशासन, सकारात्मक सोच, अध्ययनशीलता, सहकार्य र समाजसेवालाई जीवनको मूल आधार मानेको दृष्टिकोण पुस्तकभरि प्रतिबिम्बित हुन्छ । आफ्ना उपलब्धिको आत्मप्रशंसा नगरी अनुभवबाट प्राप्त सिकाइलाई पाठकसँग बाँड्ने लेखकको विनम्रता कृतिको सबैभन्दा आकर्षक पक्ष हो ।
मुरलीमोहन काफ्लेको व्यक्तित्व शिक्षण पेसामा मात्र सीमित छैन । उहाँ शिक्षा, सहकारिता, पत्रकारिता र सामाजिक नेतृत्वका क्षेत्रमा समान रूपमा सक्रिय रहनुभएको छ। शिक्षक र प्रधानाध्यापकका रूपमा हजारौँ विद्यार्थीको जीवन निर्माणमा योगदान पु¥याउनुका साथै शिक्षा प्रशासनमा विद्यालय सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उहाँले खेलेको भूमिका उल्लेखनीय छ ।

सहकारी अभियानमा उहाँको योगदान विशेष महत्त्वको छ । ग्रामीण समुदायमा बचत, उत्पादन, आत्मनिर्भरता र आर्थिक अनुशासनको संस्कार विकास गर्न उहाँले निर्वाह गर्नुभएको भूमिका प्रेरणादायी देखिन्छ। थर्पु बजारमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको स्थापना तथा सञ्चालनमा उहाँको नेतृत्व स्थानीय आर्थिक सशक्तीकरणको उदाहरणका रूपमा प्रस्तुत भएको छ । पत्रकारितामार्फत स्थानीय मुद्दाहरूलाई सार्वजनिक बहसमा ल्याउने र नागरिक समाजको सुदृढीकरणमा योगदान पु¥याउने उहाँको सक्रियता पनि प्रशंसनीय छ ।
म्याग्दे क्षेत्रको विकासमा उहाँको योगदान पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष हो । वर्तमान म्याग्दे गाउँपालिका निर्माणका लागि वैचारिक आधार निर्माण, उच्च माध्यमिक विद्यालय स्थापना, सहकारी विस्तार, विकास निर्माणका लागि महायज्ञ सञ्चालन, नागरिक समाज गठन तथा थर्पु बजारमा विद्युत् सेवा केन्द्र र प्रहरी चौकी स्थापनाका लागि जनमत निर्माणमा उहाँको सक्रिय भूमिका रहेको पुस्तकले देखाउँछ । स्थानीय समाजलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उहाँको प्रयास म्याग्देको विकास इतिहाससँग गाँसिएको विषय हो ।
राजनीतिक रूपमा उहाँ वामपन्थी विचारधारासँग आबद्ध रहेपनि पुस्तकमा प्रस्तुत व्यक्तित्व कुनै दलविशेषको सीमामा बाँधिएको देखिँदैन। शालीनता, संवादशीलता, समन्वयकारी क्षमता र सार्वजनिक उत्तरदायित्व उहाँका विशेष गुणका रूपमा उभिएका छन्। स्थानीय नेतृत्वका लागि आवश्यक अनुभव, दृष्टि र स्वीकार्यता हुँदाहुँदै पनि उहाँ प्रत्यक्ष जनप्रतिनिधित्वमा पुग्न नसक्नु एउटा छुटेको सम्भावनाका रूपमा अनुभूत हुन्छ ।
यद्यपि, समीक्षात्मक दृष्टिले हेर्दा पुस्तकमा केही सीमाहरू पनि छन् । कतिपय प्रसङ्गमा घटनाको विवरण अपेक्षाभन्दा लामो भएको छ भने विश्लेषणको ठाउँमा वर्णन बढी देखिन्छ। केही घटनालाई अझ वस्तुनिष्ठ रूपमा प्रस्तुत गरिएको भए कृतिको सन्तुलन अझ प्रभावकारी बन्न सक्थ्यो । यस्ता सामान्य सीमाका बाबजुद पुस्तकको समग्र महत्त्वमा भने कुनै कमी आएको छैन ।
समग्रमा ‘पल्टिएका पानाहरू’ एउटा व्यक्तिको आत्मकथा मात्र होइन, एउटा पुस्ताको सामाजिक इतिहास हो। यसले ग्रामीण समाजमा शिक्षा, सहकारिता, सामाजिक चेतना र स्थानीय नेतृत्वको विकासयात्रालाई जीवन्त रूपमा अभिलेख गरेको छ। यस कृतिले पाठकलाई संघर्षबाट नआत्तिन, समाजप्रति उत्तरदायी बन्न र अनुभवलाई भावी पुस्ताका लागि सम्पत्तिमा रूपान्तरण गर्न प्रेरित गर्छ ।
यस अर्थमा ‘पल्टिएका पानाहरू’ स्मृतिका साधारण पानाहरू होइनन्! ती एक कर्मशील शिक्षक, सक्षम प्रशासक, सहकारी अभियन्ता, पत्रकार र समाजसेवीले बाँचेको युगका जीवन्त अभिलेख हुन् । स्थानीय इतिहास, शिक्षा, सहकारिता तथा समाज विकासमा रुचि राख्ने पाठकका लागि यो पुस्तक पठनीय मात्र होइन, सङ्ग्रहणीय कृतिका रूपमा समेत स्थापित हुने सामथ्र्य राख्छ ।










