जलजला, पर्यटन र रोल्पाको चिनारी

के.बि. मसाल

रोल्पामा घुमफिर गर्न जाने धेरै पर्यटकहरु जलजला र थवाङ गाउँ पुग्न खोज्दछन । जलजलाको प्रकृतिक सौन्दर्यताले पर्यटकहरु रमाउँछन । पर्यटकहरुले रोल्पाको चिनारी, ग्रामीण जनजीवन, भाषा, सस्कृति र जनयुद्धको समयमा घटेका घटनाहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्दछन । पछिल्लो समय रोल्पामा गुरिल्ला पदमार्गबाट पनि धेरै ग्रामीण पर्यटकहरु रोल्पाका गाउँघरमा घुमफिर गर्दछन । रोल्पा स्थानिय भाषामा राखिएको नाम हो। रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खामभाषिहरुको वाहुल्यता भएको कारण रोल्पाका गाउँ र अधिकाँश स्थानको नामको पछाडी वाङ शव्द जोडिएको छ । खाम भाषामा वाङको अर्थ हुन्छ चौर । थवाङ पनि मगरखाम भाषामा राखिएको नाम हो । थबाङको अर्थ माथी उठेको अथवा पहाडको काखको चौर भन्ने हुन्छ ।
रोल्पा जिल्ला अठार मगरातको बसोबास क्षेत्र मानिन्छ । मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ । सदरमुकाम लिवाङ पनि खाम भाषामा नै रहेको छ । लि भनेको वास र वाङ भनेको चौर हुनेहुदा यसको अर्थ हुन्छ–वासको चौर । थवाङ ऐतिहासिक खाम जातीको बसोवास भएको गाउँ हो । थवाङ अहिले गाउपालिका भएको छ । थवाङ पुरै यतिखेर १ र २ वाडमा बिभाजन भएको छ। परमपरागत शैलीका घर ढुङगाका छाना एउटै गाउँमा ३३४ घर थवाङमा रहेको छ। पहिलो पटक थवाङ गाउँमा पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । जुन गाउँ २०१२ सालदेखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङ गाउँ नजिकै फुन्टिवाङगाउँ छ । यो गाउँ पनि युद्धको बेलामा चर्चामा आएको गाउँ हो । थवाङ गाउँ जान आजभोली धेरै बाटोहरु छन । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी हुदै दहवन पुगिन्छ । जहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन बसेको थियो ।
दहवनबाट भागोवारी हुँदै नुवागाउँ पुगिन्छ । नुवागाउँमा पहिलोपटक शाही सेना र माओवादी जम्काभेट भएको स्थल हो । जुनस्थलबाट माओवादीले युद्धकालमा सहिदमार्ग निर्माण शुरु गरेको थिए । नुवागाउँबाट उकालो लागेपछि टिला बजार पुगिन्छ । माओवादी सेनाको एउटा बिग्रेड टिलामा पनि बसेको थिया । अहिले त्यहाँ सशस्त्र प्रहरी बसिरहेको छ । टिलाबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुईखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार, र छेर्वाङ हुदै १३४ किलो मिटरको यात्रामा थवाङ पुगिन्छ । थवाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । सामूहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरी विद्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ । समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछिलाग्ने चलन छ । थवाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् ।
सशस्त्र विद्रोहमा थवाङबाट मात्रै २८ जना मारिएका थिए । मारिनेमा पाँच महिला पनि थिए । ३१ जना अपाग भए भने १४ महिला एकल हुन पुगे । एक जना अझैँ बेपत्ता छन् । थबाङ क्षेत्रमा बढी मानवीय क्षति जेलबाङमा भयो । जेलबाङका मात्रै ७३ जनाले ज्यान गुमाए । राज्यका पक्षबाट जेलबाङका ६३ जनाको ज्यान गएको थियो । थबाङकै छिमेकी मिरुलमा ३३ जनाले ज्यान गुमाएका थिए। थबाङदेखि पूर्वको उवामा पनि युद्धको अवधिभर २२ जनाको ज्यान गएको थिए । मगर समुदायको अत्यधिक बाक्लो बसोबास भएको थबाङ, जेलबाङ, उवा, मिरुल लगायतका गाउँमा युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तीनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ । आजभोली द्वन्दकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेलवाङ, ऐतिहासिक गाउँ थवाङ, द्वन्दमा प्रयोग गरिएका वकर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि युद्ध पर्यटनको रुपमा रहेका छन ।
थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुँगुर, बंगुर खुला नछोडन आदेश गरे । झ्याली पिटाए र कटुवाललाई हाक हाल्न समेत लगाए। तर, गाउँलेले मुखियाको आदेशलाई टेरेनन्। गाउँको स्थिति फेरिएन । त्यसपछि मुखियाले सुँगुर, बंगुरलाई भरुवा बन्दुक, खुकुरी र भालाले हान्न थाले । विरोधमा बोल्ने हिम्मत कसैमा भएन । अत्याचार सहिसक्नु नभएपछि बरमन बुढा लगायतका युवाले प्रतिकारमा उत्रिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । बरमन बुढालाई प्युठान कारागार पु¥याइयो । संयोगवश बरमन बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो। उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के । पछि जेलबाट छुटेका मोहनविक्रम थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गरेपछि थवाङमा कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको हो ।
थवाङ पुग्ने ग्रामीण पर्यटकहरुको लागि यी सबैकुराहरु रुचिका साथ सोधखोज गर्ने गर्दछन । थवाङमा अहिले होमस्टे सन्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुलाई खाना बस्नको कुनै समस्या हुदैन । थवाङबाट चलावाङ र तिरिवाङ हुदै करिवन ५ घन्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३ हजार १९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुरासका फूल पाइन्छ । पौराणिक कथा अनुसार वाह्रभाई वराहको जन्म धौलागिरीमा भएको र त्यहि बाट जलजला पहाडमा २२ वहिनी बजुको आगमन भएको विस्वास गरिन्छ । त्यसैले कैलु वराहको पुजा गरेपछि २२ वहिनी रानी वज्यूहरुको पुजा गर्ने प्रचलन छ । रोल्पालीको मात्र नभएर जलजला मुलुक कै धार्मीक र प्राकृतिक सम्पदा हो । जलजलामा तिन बटा वराहको मन्दिर रहेका छन । जसलाई कैलु वराह, वजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूणिमाको दिन यहाँ मेलापनि लाग्ने गर्दछ ।
जलजला पहाडमा दुर्लभ पंछी र वन्यजन्तुहरुको वसोवास पनि छ । यहा पाइने डाँफे, मुनाल, कालिज, प्युरा जस्ता पंछीहरुले जलजलालाई आफनो स्वरले त्यहाँ पुग्ने पर्यटकलाई स्वागत गरी रहेका हुन्छन । त्यसैगरी जलजलामा घोरल, थार, मृग, वदेल, भालु जस्ता जंगली जनावरहरु पनि पाइन्छ । जलजला पहाडलाई दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ जस्ता दर्जनौ जडिवुटिले पहाडको महत्व बढाएको छ। जलजला पहाड पछिल्लो समयमा नेपालको राजनैतिकसंग पनि गासिएको छ । आजभोलि जलजला पहाडलाई राजनैतिक र वलिदानीको केन्द्रको रुपमा लिने गरिएको छ । जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । अभैmपनि जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफराएको देखिन्छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक,वेसि र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ ।
जलजलाको झाँक्री थान अर्थात कैलु ब्राह थानमा झाँक्री मगर पुजारी छन । भने अरु मन्दीरमा रोका मगर पुजारी छन । जलजलामा तत्कालिन नेकपा माओवादीले संचालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई बर्षसम्म जलजलाबाट भूमिगतरुपमा प्रशारण गरिएको थियो । जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरुको लागि आर्कषणको केन्द्र बनेको छ । केही बर्ष अगाडीदेखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ । यस क्षेत्रमा लोप हुन लागेको दुलर्भ रातो पाण्डासमेत संरक्षण भएको छ । चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला दर्जनौं प्रजातिका गुराँस फूलले राताम्य हुने गर्दछ । जलजलामा गुराँस लगायतका फूलहरु चैतदेखि भदौसम्म फुल्ने हुँदा जलजला बाह्रै महिना फूल देख्न सकिन्छ ।
थबाङमा अहिले कला र संस्कृतिलाई जर्गेना गर्न स्थानीयवासी एवं राजनैतिक दलहरु लागि परेका छन् । असार महिना थबाङमा मगर जातीको भूम्या पर्व सुरुहुन्छ । भूम्या पर्व रोगब्याधी नलागोस, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस भनेर मगर समुदायले मनाउने गर्दछन । यो पर्व रोल्पाको जेलबाङ र थबाङ मात्र होइन मगर जातीहरुको बस्ती भएको सबै गाउँमा मनाउने गर्दछन। वर्षा सुरु हुनु भन्दा अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ । मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन गर्दछन। विदेशमा बस्नेहरु पनि भूम्या पूजाको समयमा गाउँमा फर्कन्छन् । मगर भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर बिभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् । रोल्पामा भूम्याजस्तै जस्तै नचारु, सिंगारु, मयुर, टप्पा समेतको नाच पनि देखाइन्छ ।
जलजला जादा बाटोमा ढकमक्क फूलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरु, कम्युनहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरुले प्रयोग गरेका गोरेटोहरुमा यात्रा गर्दै विभिन्नथरिका फूलहरु, चराचुरुंगी, वनस्पति, छंलछंल बग्ने खोलानाला, अग्ला पहाड र  झरनाहरुले त्यहा जाने ग्रामीण पर्यटकहरुलाई आनन्द दिलाउछ । जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि भ्रमण जाने गर्दछन । रोल्पाको भ्रमणमा हिमाल, जंगल, नदी, छहरा, ग्रामीण बस्ती, जंगली जनावर र पन्छी अवलोकन गर्न सकिने धेरै मार्गहरु पर्दछन ।
जलजला रोल्पा जिल्लाको चिनारी पनि हो। जलजला रोल्पाको उत्तरमा रहेको छ। रोल्पाका सबै स्थानिय तहहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङसी, भावाङ, जङकोट, ह्वामा, धाङसीधवाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण जलजलामा सौदर्यको विविधता पनि पाइन्छ ।
जलजला पहाडको उच्चस्थानमा पुगेर पनि त्यसको वरपर होचा र अग्ला लेकका चुच्चाहरु चढन निकै समय लाग्छ। त्यति अग्लो भएर पनि यसको बीच भागमा स्वच्छ पानीको मुहान छ । त्यहाँबाट बग्ने पानी जेल्बाङको उर्वर भूमि भएर बग्दछ । जलजलामा रहेको घम्मिरेको लेक सबैभन्दा अग्लो लेक हो । त्यो पश्चिम दक्षिणतिर निकै ठाडो र भिरालो परेको छ भने पूर्वउत्तरतिर भने रमणिय सम्म परेको सजिलो भूभाग रहेको छ । जलजलाको पूर्वमा निकै रमणीय विविधतायुक्त र रहस्य जस्ता लाग्ने ढुङ्गा, पखेरा र पहराहरु रहेका छन् । तर उत्तरतिर भने थवाङ र उवा गाउँमा जाने बाटाहरु केही भिरालो जमीन रहेको छ ।
गूरिल्ला पदमार्ग भर्खरै मात्रै पहिचान गरिएको नयाँ पदमार्ग हो । यो पदमार्गले रोल्पा, रुकुम, बागलुङ हुँदै म्याग्दी जिल्लाहरु समेत समेटेको छ । यस पदमार्गमा सुलीचौर, जेलबाङ, ओखरेनी, धरमपानी, जलजला, थाबाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ ।
यस्तै अर्को मार्गमा थबाङबाट धरमशाला, लावाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाडा अर्थात चुनवाङ हुँदै गैरीगाउँबाट घर्तीगाउ निस्कन सकिन्छ । गुरिल्ला पदयात्रामा मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिनछ । यो पदयात्रामा विशाल फाँट, हरियाली जंगल अनि सेताम्य हिमालको दृश्य हेर्न पाइन्छ । यो पहाडी यात्रा प्राकृतिकमात्रै नभएर सांस्कृतिक एवं सामाजिक हिसाबले पनि रोचक मानिन्छ  कुनै समय द्वन्द्वको केन्द्रका रुपमा प्रख्यात रहेकोे रोल्पा रुकुमले अहिले विस्तारै पर्यटकीय सम्भावनाहरु खोज्न थालेका छन । गाउँमा कच्ची भए पनि मोटर मार्ग निर्माण भएका छन। गाउँमा पुग्ने पर्यटकहरुलाई सुविधा दिनको लागि कतै होमस्टे सन्चालनमा आएका छन भने गाउँ घरमा  ग्रामीण बजार र होटलहरु पनि खुल्दै छन ।

कसरी पुग्ने ?

दाङको घोराही–नुवागाउको तिला घर्तीगाउँ हुदै थवाङ सम्मको दुरी १३४ किलो मिटर पर्दछ । लिवाङदेखि घर्तीगाउँ हुँदै ७४ कि.मि.को. कच्ची सडक यात्रामा पनि थबाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर–फुलिवन, रुइनिवाङ हुँदै थवाङ ५७ किलो मिटरको दुरी पर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker