बाढीपहिरोले तनहुँका सार्वजनिक पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस
तनहुँ : गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँका सडक, पुल, कल्भर्टलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । बाढीले पाँचवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै तीनवटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा आंशिक क्षति पुर्याएको छ । दुईवटा कल्भर्टमा समेत क्षति पुगेको छ ।
बाढीले घर, सडक, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षी क्षेत्रमा समेत असर पारेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पुल तथा सडक संरचनामा क्षति पुगेपछि विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ । नदी वारपार गर्ने स्थानीय बासिन्दा र विद्यालय जाने विद्यार्थीलाई समेत समस्या भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ । स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयको आवागमन, दैनिक जनजीवन र सेवा प्रवाहमा थप समस्या हुन सक्ने भएकाले तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको तिवारीले जानकारी दिए ।
पाँच झोलुङ्गे पुल पूर्ण क्षतिग्रस्त
बाढीले घिरिङ गाउँपालिका र छिमेकी जिल्लाका विभिन्न बस्ती जोड्ने चारवटा तथा देवघाट गाउँपालिकाको एउटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।
घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सोही वडाको अत्रौलीबाट कासिवन जोड्ने पुलसमेत बाढीले बगाएको छ । यी दुवै पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग, ललितपुरमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
त्यसैगरी घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत मण्डारबाट खरसङघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सोही वडाको करुवाटारबाट माइतीघाट–मचेडी जोड्ने पुलमा पनि बाढीले पूर्ण क्षति पुर्याएको छ। यी पुलको पुनर्निर्माणका लागि समेत स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।
देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुल पनि बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । पुलहरू क्षतिग्रस्त भएपछि नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ भएको छ । दैनिक उपभोग्य सामग्री ओसारपसार, विद्यालय आवतजावत र स्थानीयको अन्य कामकाज प्रभावित भएका छन् ।
तीन झोलुङ्गे पुल र पक्की पुलमा क्षति
बाढीले थप तीनवटा झोलुङ्गे पुलमा आंशिक क्षति पु¥याएको छ। घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने पुट्टारघाट–स्याउलीबजार झोलुङ्गे पुलमा क्षति पुगेको छ । यसको मर्मत तथा पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।
घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली जोड्ने जगौलीटार–थोत्रेनी झोलुङ्गे पुलमा पनि आंशिक क्षति पुगेको छ । त्यसैगरी देवघाट गाउँपालिका–१ र नवलपुरको गैँडाकोट नगरपालिका–३ जोड्ने झोलुङ्गे पुलको लठ्ठा, स्ल्याब तथा जालीमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । उक्त पुलको मर्मत गरी सुरक्षित बनाउने प्रक्रिया अघि बढाइएको छ ।
बाढीले घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी मण्डार–खरसङघाट पक्की पुलमा समेत आंशिक क्षति पु¥याएको छ । पुलको आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सडक विभाग, बबरमहल र सडक डिभिजन कार्यालय दमौलीमा सिफारिस गरिएको छ ।
कल्भर्ट पुनर्निर्माणको प्रक्रिया अघि बढाइँदै
बाढीले भिमाद नगरपालिका–४ स्थित सिंहाले कल्भर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । यसको पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ तथा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ ।
घिरिङ गाउँपालिका–४ स्थित तिरन्दी खोला कल्भर्टमा पनि आंशिक क्षति पुगेको छ । उक्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
उनले बाढीबाट क्षतिग्रस्त सडक, पुल, भवन तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत काम छिटो अघि बढाउन समन्वय भइरहेको उनको भनाइ छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको विवरण संकलन र पुनर्निर्माणका लागि सिफारिस गर्ने काम अघि बढे पनि प्रभावित क्षेत्रका बासिन्दाले सुरक्षित आवागमनका लागि तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था आवश्यक रहेको बताएका छन् । जोखिमयुक्त पुल तथा सडकको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा पुनर्निर्माण अघि बढाउनु अहिलेको आवश्यकता बनेको छ ।










