छात्रावासमा बस्नका लागि पाँच सयको आवेदन

  • रासस (दमौली)

समुदायबाट सञ्चालित तनहुँको ब्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छात्रावासमा बस्न पाँच सय विद्यार्थीले आवेदन दिएका छन् । ३० जनाको मात्रै क्षमता रहेको छात्रावासमा आवासीय सुविधाका लागि पाँच सय विद्यार्थीको आवेदन परेको क्याम्पसले जनाएको छ । आवेदन दिनेमध्ये २५२ विद्यार्थी अभिभावकविहीन रहेको क्याम्पसप्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । “३० जनाको क्षमता हो, ५०० जनाको आवेदन परेको छ,” उहाँले भन्नुभयो, “कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।” विसं २०५८ मा शुरु भएर विसं २०७५ मंसिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो । सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौ,” क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो ।

उहाँका अनुसार क्याम्पसको शिक्षाको गुणस्तरका कारण यस वर्ष क्याम्पसमा पाँच सय विद्यार्थी थपिएका छन् । हाल क्याम्पसमा दुइ हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । “गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ”, प्रमुख हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस यो अवस्थासम्म आइपुगेको छ ।”

क्याम्पसमा बिबिए र बिआइसिटीको अध्ययन शुरु भइसकेको छ भने बिएस्सीको तयारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ । विसं २०४३ मा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको शुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लबकै एक लाख डलरको सहयोगमा विज्ञान प्रयोगशाला भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker