छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय दमौलीको आग्रह
भञ्ज्याङ समाचारदाता (दमौली)

आर्थिक ऐन २०७७ बमोजिम अहिलेसम्म दर्ता नभई काम गरिरहेका र दर्ता भएर पनि विवरण नबुझाएका करदाताका लागि छुट र मिनाहा दिने भएकाले उक्त सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय दमौलीले आग्रह गरेको छ । दर्ता नभई काम गरिरहेका करदाता दर्ता हुन आएमा आव ०७४/७५ र ०७५/७६ को आय विवरण र करमात्र बुझाएमा शुल्क र ब्याज मिनाहा हुने र सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र व्याज बुझाउन नपर्ने भएको छ ।
पहिले नै दर्ता भएर पनि आय विवरण नबुझाएका प्राकृतिक व्यक्तिले आव ०७३/७४, ०७४/७५ र ०७५/७६ को विवरण र करका साथै ब्याजको २५ प्रतिशत मात्र बुझाएमा सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र ब्याज बुझाउन नपर्ने कार्यालयका प्रमुख नारायण ढकालले बताए ।
त्यस्तै मूल्यअभिवृद्धि करमा दर्ता भएका तर २०७५ साल असार मसान्तसम्मको विवरण पेश नगरेकाले बुझाउपर्ने कर विवरण, लाग्ने कर र ब्याजको ५० प्रतिशत मात्र बुझाएमा जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।










