तनहुँको देवघाटको वडा नं. ३ मा एकीकृत नागरिक सेवा सुरु
भञ्ज्याङ समाचारदाता (देवघाट)

तनहुँको देवघाट गाउँपालिका वडा नं. ३ को डगरामा एकिकृत नागरिक सेवा केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ । गत वर्षेखि संचालनमा आएको उक्त सेवा कोभिड भाइरसको जोखिम बढेपछि बन्द भएको थियो । बन्द भएको वर्षदिनपछि मंगलबारदेखि पुनः संचालनमा आएको हो।
गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु महिनाको एक दिन उक्त सेवा केन्द्रबाट प्रदान गर्ने योजना अन्तर्गत सबै वडाहरुमा एकिकृत सेवा केन्द्र संचालन गरेको छ । सेवा पुनः सुरु भएको अवसरमा मंगलबार गाउँपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवाहरु उक्त केन्द्रबाट प्रदान गरिएको थियो ।
विकट बस्ती भएको देवघाटमा नागरिकहरु सेवा लिन वडा कार्यालय र गाउँपालिकाको कार्यालयसम्म आउन नसक्ने भएपछि महिनाको एक पटक गाउँमै गएर सेवा प्रदान गर्ने उद्देश्यका साथ हरेक वडामा सेवा केन्द्र संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
गत वर्षकोरोना भाइरसको कारण सुरु हुन नसकेको एकीकृत नागरिक सेवा पुनः सबै वडामा संचालन गरिने र यसबाट नागरिकहरुले लाभ लिन सकुन पर्ने अध्यक्ष थापाले बताए । वडा तथा गाउँपालिकाको सेवा प्रति नागरिकहरुको गुनासो र सल्लाह सुझावहरु प्रत्यक्ष जनप्रतिनिधि र कर्मचारी हरुको बिचमा राख्ने र आगामी दिनहरुमा थप सेवाहरुलाई प्रभावकारि बनाउन सकिने अध्यक्ष थापाले बताए ।
डगरा टोल बिकास संस्थाको अध्यक्ष मानसिङ्ग गुरुङको अध्यक्षता आयोजित कार्यक्रममा देवघाट कार्यपालिका सदस्य यममाया गुरुङ समाजसेवी डा. सुरेन्द्र श्रेष्ठ, कामना सामुदायिक बनका अध्यक्ष रुपेस गुरुङ छिपछिपे स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण पराजुली लगायतले मन्तव्य राखेका थिए । उक्त सेवा केन्द्र मार्फत सामााजिक सुरक्षा कार्यक्रम अन्तर्गत घटना दर्ता, कृषि तथा पशुको प्राविधिक सेवा, स्वास्थ्य परामर्श सेवा लगायतका सेवा प्रवाह गरिएको थियो ।










