तनहुँको व्यास नगरपालिकाले विद्यालय तहको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने
बिहान ८ देखि साँझ ८ बजेसम्म पसल खोल्न पाइने, संक्रमण देखिएमा प्रत्येक सोमबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने

- भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा सामुदायिक विद्यालयको अन्तिम परीक्षा यही बैशाख २१ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि नगरपालिकाले जेठ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी गरेको परीक्षालाई यही वैशाख २१ गतेबाट सञ्चालन गर्ने तयारी गरेको हो । नगरपालिका क्षेत्रका विद्यालयहरुको जेठ ९ गतेदेखि गर्न लागिएको अन्तिम परीक्षालाई वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराए ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले बाल विकासदेखि कक्षा ९ सम्मको परीक्षाको मिति तय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले बताए । धेरै विद्यार्थी भएका विद्यालयमा तीन चरणमा परीक्षा सञ्चालन गर्ने गरी समय तालिका तयारी गरिएको र कोभिडको जोखिमलाई ध्यानमा राख्दै र्सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न प्रधानाध्यापकलाई निर्देशन दिइएको रेग्मीले बताए ।
यस्तै उक्त बैठकले कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि नगरपालिकाको बजार क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसाय लगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
कोभिड-१९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताल लगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
कोभिडको लक्षण देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पीसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसंख्या शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । संक्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिड उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना हुन नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै, तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दशवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, जिल्ला स्वास्थ्य कार्यालय लगायतको सहभागिता रहेको थियो ।










