देवघाट गाउँपालिकाका अध्यक्ष थापाद्वारा असाय वृद्वको उद्धार
आशिक राना/भञ्ज्याङ न्यूज

कोरोना महामारीमा बिचल्लीमा परेको वृद्वलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले घरमै पुगेर उद्दार गरेका छन् । अध्यक्ष थापाले ओखलढुंगा घर भइ २० बर्षदेखि देवघाटको पुरानो झालुङ्गे पुलमा मागेर दैनिक गुजारा चलाउने न्यौपाने थरका करिब ८३ वर्षीय वृद्वको उनी बस्ने घरबाटै उद्वार गरेका हुन् ।
आफ्नो नाम पनि बताउन नसक्ने वृद्व देवघाटमा अर्काको काठको कच्ची घरमा एक्लै बसोबास गर्दै आएका थिए । स्थानीयहरुले वृद्व जेष्ठ नागरिक बिरामी भएको खबर सुनाए पछि आफु र केही स्थानीय ब्याक्तिहरु सहित तत्काल सो स्थानमा पुगि वृद्वको उद्दार गरिएको अध्यक्ष थापाले बताए। वृद्वको उद्दार पछि उपचार गरिने र खान बस्नको लागि उचित ब्यवस्थापन गरिएको अध्यक्ष थापाले बताए ।
उद्धारको क्रममा उनको साथबाट नगद २ हजार २ सय रुपैयाँ समेत फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले बताए । ती वृद्ध करिब १५ दिनदेखि भोको रहेको र खानै नपाएको कारण केही दिनदेखि थला परेको स्थानीयले बताएका छन् ।
सो उद्दार कार्यमा स्थानीय गणेश टोल विकास संस्थाका सचिव अमृत घिमिरे, रामहरी पुडासैनी, लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डे र देवघाट गाउँपालिका सामाजिक अभियान्ता केशव पोख्रेल लगायतको सहभागिता रहेको थियो ।










