‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकाको चित्रकला सिकाइ तालिम

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ । चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाउनुभएकी उहाँ हाल आफैँले चित्र कोर्नसक्ने हुनुभएको छ ।

आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाउनुभएकी उहाँले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।”

बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कस्तो राम्रो चित्र बनाएको भनेर धेरैले हौसला दिनुभयो, मलाई यसमा लाग्न अझ प्रेरित गरेको छ ।” भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोर्नुभएको छ ।

भविष्यमा चित्रकलालाई निरन्तरता दिने र चित्र बिक्री गरी पढाइ खर्च व्यवस्थापन गर्ने सोच बनाएको भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अब चित्रकलालाई आम्दानीको स्रोत बनाउने सोच राखेको छु ।”

कक्षा ११ मा अध्ययनरत भुजेलले पहिलो महिनावारीको अवस्थालाई चित्रमार्फत चित्रण गर्नुभएको छ । महिनावारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोहीअनुसारको चित्र कोरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएका बेला लजाउने प्रवृत्ति छ, यो सामान्य कुरा हो लजाउन हुँदैन भन्ने सन्देश दिन चित्र बनाएको छु ।”

कक्षा ११ मा अध्ययनरत दिपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत उतार्नुभएको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत प्रवद्र्धन गर्न त्यसलाई कागजमा उतारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चित्रकलालाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित चित्र बनाउन सिकेको हुँ ।”

उहाँहरु जस्तै कक्षा ११ मा अध्ययनरत २० विद्यार्थीलाई चित्रकला सिकाइ तालिम दिइएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले चित्रकला सिकाइ तालिम प्रदान गरेको हो ।

विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई सार्थकता दिन विद्यालयमा चित्रकला कक्षा सञ्चालन गरिएको चुमानको भनाइ छ ।

सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तररुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “चित्रकला सिकाइले विद्यार्थीको कलालाई उजागर गर्नुका साथै विद्यार्थीमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्छ, चित्रकला आम्दानीको स्रोत बन्नसक्छ भनेर यसलाई अगाडि बढाएका हौँ ।”

गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको प्रशिक्षक पवन नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न सीप सञ्चालन भइरहेका छन्, सोहीबमोजिम विद्यार्थीलाई चित्रकला सिकाइएको हो ।”

विद्यार्थीको सक्रिय सहभागिता र सिकाइले उत्साहित बनाएको नेपालीको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीले बनाएको चित्र खरिदका लागि माग आइसकेको छ, यसलाई व्यवस्थित गर्न सकिए चित्रकला आम्दानीको राम्रो माध्यम बन्नेछ ।” उहाँका अनुसार गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि चित्रकला प्रशिक्षण सञ्चालन गरिनेछ । विद्यार्थीले सामाजिक हिंसा, गाउँपालिकाभित्रका पर्यटकीयस्थल, समाजमा हुने घटना न्यूनीकरणजस्ता विषयलाई चित्रमार्फत वर्णन गरेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker