तनहुँका किसान बने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
भञ्ज्याङ न्यूज

तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
२०२४ पुस ७ गते साविक जामुने गाविसको दभुङमा जन्मिएका किसान २०३८ सालदेखी अनेरास्ववियुमा आवद्ध भई राजनीति सुरु गरेका थिए । २०५१ सालदेखी नेकपा एमालेको राजनीति गरेका श्रेष्ठ २०७४ सालमा नेकपा एमालेको तर्फाट तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचनमा किसानले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई ६ हजार ८ सय १४ मत अन्तरले पराजित गरेका थिए ।
किसान गत पछिल्लो समय नेकपा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजबादीमा आवद्ध छन् । एमाले संसदीय दलको निर्णय उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत दिएपछि किसान मन्त्री बनेका हुन् । श्रेष्ठ मन्त्री बनेसंगै लामो समयदेखिको तनहुँमा मन्त्रीको खडेरी तोडिएको छ ।
किसान सांसदको रुपमा उद्योग वाणिज्यको आपुर्ती तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य थिए । राजनीतिसँगै सामाजिक सेवा र व्यवसायमा संलग्न किसान नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हुन् । उनी होटल, हाउजिङ, रियलस्टेट, ग्याँस, म्याट्रेस जस्ता उद्योग व्यवसाय गर्दै आएका छन् ।
किसानको अगुवाईमा जिल्लाको विकास निर्माणमा करोडौं रुपैयाँ बिनियोजन भएको थियो । सांसदको रुपमा आफुलाई प्राप्त तलब भत्ता जिल्लाको विकास निर्माण र संघ संस्थामा लगाएका किसान जिल्लामा विकास प्रेमी नेताको रुपमा परिचित बन्दै गएका छन् ।










