लामो समयदेखि तलबभत्ता नपाएका दमौली अस्पतालका चिकित्सकद्वारा प्रजिअलाई बुझाए ज्ञापनपत्र
भञ्ज्याङ न्यूज

तनहुँको दमौली अस्पतालमा कार्यरत चिकित्सकहरुले करिब डेढ वर्षदेखि कोभिड-१९ जोखिम भत्ता नपाएको बताएका छन् । दमौली अस्पतालमा करारमा कार्यरत चिकित्सकले २०७७ साल साउन महिनादेखि हालसम्म भत्ता र २०७८ साल साउनदेखि तलब नपाएको बताएका हुन् ।
कोभिड संक्रमणको उच्च जोखिमका समयमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले १८ महिना यता कुनै भत्ता नपाएको गुनासो गरेका छन् ।
काम बापत निरन्तर पाउनुपर्ने तलबभत्ताको लागि बारम्बार ताकेता गर्दापनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने काम बाहेक अन्य केही हुन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

विगत लामो समयदेखि तलबभत्ता बिना काम गरिरहँदा पनि कुनै सुनुवाई नभएकाले चिकित्सक हतोत्साही भएको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।
अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले १८ महिनादेखि बभत्ता र गता साउन महिना यता तलब पाउन नसकेको प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले शुक्रबार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र बुझाउँदै तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न अर्समर्थ हुने उल्लेख गरेका छन् ।
‘अस्पतालका प्रमुखलाई माघ १६ गते नै निवेदन दिइसकेका छौ, एक हप्ताको समय बितिसक्दा पनि केही उपलब्धी नहुँदा हामी अस्पतालका चिकित्सक माघ २३ गतेदेखि दैनिक कामकाजबाट पछि हट्न बाध्य भएका छौ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसबाट सेवाग्राहीलाई हुन जाने असहजताका लागि हामी क्षमाप्रार्थी छौ ।’

यस्तै, प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन तनहुँलाई पनि दिइएको छ ।
दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताएका छन् । डा. पौड्यालले भने, ‘यसै विषयलाई लिएर आफु काठमाडौं आएको छु, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षा गराइसकेको छु । अब ढिलोचाँडो यो समस्या समाधान हुन्छ ।’
अस्पतालमा कार्यरत दुइ जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरेपनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको डा. पौड्यालले बताए ।











