पर्यटन प्रवर्द्धनका लागि हातेमालो आवश्यक छ : नगरप्रमुख न्यौपाने
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरलाई ऐतिहासिक तथा ग्रामीण पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।
तनहुँसुर इकोट्रेकका लागि आएका श्री नं. ३ बाहिनी फिल्ड गुल्मका बहालवाला र भूतपूर्व सैनिकहरुको टोलीलाई स्वागत गर्दै ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको तनहुँसुर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले आवश्यक कार्यक्रमलाई प्राथमिकता दिंदै अगाडि बढाएको बताए ।

‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि सहभागितामुलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रमनै सञ्चालनमा ल्याइएको छ’, नगरप्रमुख न्यौपानले भने, ‘वडा नं. ११ को समग्र क्षेत्रलाई पर्यटकीय गतिविधि मार्फत जोडेर कार्यक्रमहरु अगाडि बढाइएको छ । मुख्यत अहिले पूर्वाधार तर्फ सडकको स्तरोन्नती, सामुदायिक भवन, तनहुँसुरका ऐतिहासिक सम्पदाको संरक्षण, स्थानीयलाई पर्यटन क्षेत्रसंग जोड्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ ।’

पदयात्रामा सहभागि हुन आएका मध्ये कमाण्ड हेडक्वाटर विजयपुरका उपरथी बाबुराम श्रेष्ठले श्री नं. ३ बाहिनी फिल्ड गुल्मका बहालवला र भूतपूर्व सैनिकहरुले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरेको कार्यक्रम महत्वपूर्ण भएको चर्चा गर्दै पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा अन्य कामका लागि नेपाली सेना पनि हातेमालो गर्न तयार रहेको बताए ।

उनले भने, ‘देशमा शान्ति सुरक्षाका साथै विकास निर्माण र आवश्यकातानुसारका अन्य काममा पनि नेपाली सेनाले सहकार्य गर्ने र गर्दै आएको हुँदा केही मद्दत आवश्यक परेमा माग गर्नुहोला ।’
श्री नं. ३ बाहिनी फिल्ड गुल्मका बहालवला र भूतपूर्व सैनिकहरु सामाजिक सञ्जाल मार्फ जोडिएर पूनर्मिलन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको व्यास-११ का वडाध्यक्ष निर बहादुर खड्काले बताए ।

‘आफु पनि यही गुल्ममा कार्यरत रही अवकासप्राप्त भई अहिले सामाजिक क्षेत्रमा खट्टएिको छु’, उनले भने, ‘संगै कार्यरत रहेका साथीहरुको सामाजिक सञ्जालमार्फत कुराकानी गरी पुनर्मिलनको कार्यक्रम स्वरुप तनहुँसुर इकोट्रेकमा पदयात्रा गरिएको हो ।’
शनिबार र आइतबार गरी दुइ दिनसम्म आयोजना गरिएको यो क्रममा करिब २० जिल्लाका २५ जनाको सहभागि रहेको छ । पदयात्रामा सहभागिहरुले व्यास-११ को मुलपानीबाट पदयात्रा गरी तनहुँसुर पुगेका थिए । पदयात्रीहरुलाई मुलपानी, तनहुँसुर देवस्थल र तनहुँसुर सामुदायिक होमस्टे सञ्चालकहरुले स्वागत गरेका थिए ।











