बाथरुममा छिरेपछि किन फुर्छ नयाँ आइडिया ? यस्तो छ वैज्ञानिक कारण

यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो ।

शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ । बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क एक प्रकारले अटो पाइलट मोडमा हुन्छ ।

त्यसैले त्यस्तो बेला दिमागले आफ्नो असाधारण स्मरण क्षमतालाई उपयोग गरी विभिन्न सिर्जनात्मक आइडियाहरु फुराउने वा लामो समयदेखि जकडिएको समस्याको समाधान खोज्ने फुर्सद पाउने शोधकर्ताहरुको भनाइ छ ।

भ्यानकुभरस्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी स्नायु वैज्ञानिक समेत रहेकी शोधकर्ता कालिना क्रिस्टोफका अनुसार मानिसहरु प्रायः अनपेक्षित समयमा आफूलाई कुनै रोचक तथा नौलो आइडिया प्राप्त भएको भनेर अचम्ममा परिरहेका हुन्छन्, जबकि त्यस्तो विचार वा आइडिया कडा मेहेनतबाट मात्र हासिल गर्न सकिन्छ भन्ने आम मान्यता हुन्छ ।

आखिर हामीले गर्ने सबैभन्दा निस्क्रिय कार्यहरुका बेला उन्नत विचारहरु मस्तिष्कमा पैदा हुन्छन् त ? आखिर त्यसबेला दिमागमा के त्यस्तो घटना हुन्छ ?

शोधकर्ताका अनुसार यसको कारकतत्व भनेको मस्तिष्कको क्रियाकलापको ढाँचा हो जसलाई ‘डिफल्ट मोड नेटवर्क’ (डिएमएन) भनिन्छ । मानिसले आराम गरिरहेको वा धेरै सोचविचार र सतर्कता आवश्यक नपर्ने आफ्ना दैनिक क्रियाकलापहरु ग्रिरहेको बेला दिमागमा उक्त क्रिया हुन्छ ।

शोधकर्ताहरुका अनुसार मस्तिष्कका एक दर्जन भन्दा धेरै ठाउँहरुलाई जोड्ने डिफल्ट मोड नेटवर्क (डिएमएन) बढी ध्यान दिनुपर्ने कामका बेला भन्दा मस्तिष्कको स्वच्छन्दता वा निस्क्रिय सनातनी कामका बेला बढी सक्रिय हुन्छ । सक्रिय रुपमा कुनै काममा व्यस्त नभएको बेलामा उत्पन्न हुने दिमागी अवस्था नै डिफल्ट मोड नेटवर्क हो ।

शोधकर्ताका अनुसार डिफल्ट मोड नेटवर्कले सिर्जनात्मक प्रक्रियामा मुख्य भूमिका खेलिरहेको बेलामा महत्वपूर्ण नेटवर्कले मात्र नभई परिवर्तनकारी, अस्विकारजन्य तथा कार्यान्वयनजन्य विभिन्न विचारका नेटवर्कहरुले पनि भूमिका खेलिरहेका हुन्छन् । त्यसैले बाथरुममा फुर्ने आइडियामा अन्धो भएर पूरै भर चाहिँ पर्न नमिल्ने शोधकर्ताको भनाइ छ ।

वाशिंटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका न्युरोलोजिष्ट मार्कस राइचल र उनको टिमले सन् २००१ मा मस्तिष्कको डिफल्ट मोड नेटवर्क पत्ता लगाएका थिए । उनीहरुले कुनै गहन काममा व्यस्त मानिसका मस्तिष्कको पोजिट्रोन इमिसन टोमोग्राफीको तस्वीरलाई आराम गरिरहेको वा कुनै हल्काफुल्का निस्क्रिय प्रकारको नियमित काम गरिरहेको मानिसको मस्तिष्कको तस्वीरसँग तुलना गरे ।

त्यसक्रममा निस्क्रिय खालका काम गरिरहेको वा आराम गरिरहेको मानिसको दिमागका निश्चित भागहरु ग्हन काम गरिरहेको मानिसमा भन्दा बढी सक्रिय भएको पाइयो । मस्तिष्कको उक्त अवस्थालाई उनीहरुले डिफल्ट मोड नेटवर्क नामाकरण गरेका थिए । मस्तिष्कको यो अवस्था विगतका घटनाहरुको सम्झना गरिरहेको वा आत्मसमीक्षाकारी विचार विमर्शमा व्यस्त रहेको बेलामा पनि सक्रिय भएको पाइयो ।

शोधकर्ताका अनुसार विगतका अनुभव तथा विश्वको ज्ञानबाट नयाँ आइडियाको सिर्जना गर्ने प्रारम्भिक अवस्थामा पनि डिफल्ट मोड नेटवर्क सक्रिय रहन्छ ।

शोधकर्ता भन्छन्– जब तपाईं कुनै समस्यामाथि सक्रिय रुपमा कार्य गरिरहेको हुनुहुन्न त्यसबेला पनि तपाईंको दिमाग घुमिरहेको हुन्छ र तपाईंले समस्याका तत्वहरुलाई पुनर्संरचना गर्न सक्नुहुन्छ, हरेक अंशहरु नवीकरण हुन्छन् र कुनै नयाँ विचारको सिर्जना हुन्छ । डिफल्ट मोड नेटवर्कले जानकारीहरुलाई विभिन्न तरिकाले एक आपसमा जोड्न र सम्भावनाहरु पहिल्याउन सहयोग गर्दछ । एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker