१०औं राष्ट्रिय विज्ञान दिवस मनाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा १०औं राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विज्ञान र प्रविधि विषयको पठनपाठनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
क्याम्पसमा विज्ञान र प्रविधि सम्बद्ध उच्च शैक्षिक कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको अध्यक्षतामा व्यास नगरपालिकाले प्राविधिक उच्च शिक्षा अध्ययन समिति गठन गरेको र उक्त समितिको अध्ययन प्रतिवेदन पछि क्याम्पसलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा नगरपालिकाले ठोस सहायता गर्ने कार्यक्रम रहेको प्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा विज्ञान विषय पढाउने शिक्षकहरुको सहभागितामा विज्ञान शिक्षणका चुनौतिहरु विषयक छलफल गरिएको थियो । उक्त छलफलमा तिनै जिल्लाका शिक्षकहरुको ४० जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।
क्याम्पसका विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, एड्भान्स सरस्वती प्रकाशन, काठमाडौंका ११/१२ कक्षा रसायन शास्त्रका पाठ्य पुस्तकका लेखक उपेन्द्र चौधरी, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान पोखराका अनुसन्धानकर्ता कल्याण पन्थ, जनज्योति माध्यमिक विद्यालय भिमादका प्राचार्य चन्द्रप्रकाश सुवेदी, भक्ति नमुना माध्यमिक बिद्यालय भोटेवडार लमजुङका शिक्षक धिरज थापा, शक्ति माध्यमिक विद्यालय गोरखाका शिक्षक तिलकजंग केसी, शुक्ला माध्यमिक विद्यालय रिसिङ-१, तनहुँका शिक्षक होमनाथ ढकाल लगायतले विज्ञान शिक्षणका चुनौती विषयमा आ-आफ्ना प्रस्तुती राखेका थिए ।
यस्तै, गोरखा, लमजुङ र तनहुँ जिल्लाका कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने क्याम्पस/विद्यालयका गरी ७ ओटा टोलीहरु बिच विज्ञान हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा पञ्चमुनि देव माध्यमिक विद्यालय, दुलेगौंडाका विद्यार्थी बिवेक पौडेलको नेतत्वमा रहेको अमर बहादुर कार्की, आकृति अधिकारी र ममता अधिकारीको समूहले तेस्रो स्थान हासिल गरि ४ हजार नगद पुरस्कार जित्न सफल भएको छ।
यस्तै, प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालय दमौलीक विद्यार्थी सिद्धान्त पण्डितको नेतृत्वको निरज ओझा, प्रकृति भण्डारी र दिपा बिक र प्रकृति भण्डारी सहभागी टोलीले दोस्रो स्थान हासिल गरी ८ हजार नगद पुरस्कार जितका छन् । शक्ति माध्यमिक विद्यालय गोरखा-६, गोर्खाका विद्यार्थी सौगात वि.क.को नेतृत्वको अजित कोइराला, श्रेय र्राई र सुप्रिया आले मगर सहभागी समूहले प्रथम स्थान हासिल गरी १२ हजार नगद पुरस्कार हातपार्न सफल भएको छ । यस्तै, विज्ञान दिवसकै अवसरमा क्याम्पस परिसरमा रहेका ४० प्रजातिका वनस्पतिहरूको नामाकरण सहितको ट्यागिङ्ग गर्ने कार्यक्रम पनि गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।










