योजना सफल बनाउन उपभोक्ता समितिलाई क्रियाशिल हुन दोर्दीका अध्यक्ष अधिकारीको आग्रह
भञ्ज्याङ न्यूज

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले योजनाहरु सहज, छिटो छरितो रुपमा सम्पन्न गर्नका लागि उपभोक्ता समितिलाई क्रियाशिल हुन आग्रह गरेका छन् ।
दोर्दी गाउँपालिकाले वडा नं. ८ बन्सारमा सञ्चालन गरेको उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एक दिने अभिमूखिकरण तालिमलाई सम्बोधन गर्दै उनले उपभोक्त समितिलाई क्रियाशिल हुन आग्रह गरेका हुन् ।
उनले योजना सम्झौताको लागि पालिकामै धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै वडा वडामै योजना सम्झौताको काम अघि बढाएको बताए । यसरी अघि बढाएको योजनाहरु उपभोक्ताहरुले पारदर्शी एवं तीब्र रुपमा संचालन गर्नुका साथै समितिलाई आधुनिक श्रोत साधन र प्रविधिहरुको उपभोग गर्दै सरल र सहज रुपमा काम गर्न अभिमूखिकरण कार्यक्रमले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यतिबेला सञ्चारको माध्यमबाट सहज हुन थालेकाले पालिकाले पनि यसको माध्यमको प्रयोग गर्दै सेवाग्राहीलाई थप सहज बनाउन कार्य गरेको बताउँदै अध्यक्ष अधिकारीले उपभोक्ता समितिलाई गुणस्तरीय र पारदर्शीता काम गर्नलाई निर्देशन समेत दिए ।
पालिकामा आउँदा कहिले प्राविधिक नहुने कहिले के नमिल्ने हुँदा सेवाग्राही मर्कामा पर्दै आएकाले वडा वडामै योजना सम्झौता गर्दै पालिकाले सेवाग्राहीको समस्या हटाउन थालेको समेत उनले बताए ।
त्यस्तै, गाउँपालिका प्राविधिक शाखाका प्रमुख सवइन्जिनियर विश्वास पाण्डेले कार्यक्रममा सहभागि १५ वटा उपभोक्ता समितिका ३० जना पदाधिकारीहरुलाई योजना सम्झौता गर्दा आवश्यक कागजपत्र, भुत्तानी प्रक्रिया, समानहरुको गुणस्तर जाँच कसरी गर्ने, बेरुजी नहुनका लागि कसरी काम गर्नुपर्छ, प्राविधिकको स्टमेन्ट अनुसार काम गर्नुपर्ने लगायतको विषयमा सहजिकरण गरेका थिए ।
साथै सोही कार्यक्रम पश्चात् नै वडामै योजना सम्झौता गरेको छ । वडामा भएका १५ वटा योजनामध्ये ११ वटा योजना सम्झौता गरिएको र ४ वटा योजना सम्झौता गर्न विविध कारणले बाँकी रहेको वडाध्यक्ष नारान घलेले बताए ।
उनका अनुसार ती योजनाका लागि पालिकाबाट ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्राविधिक शाखाको अनुसार तीमध्ये स्टमेन्ट भने १४ वटाको भैसकेको र १ वटाको मात्र बाँकी रहेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ लगायतले उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रमले योजना समयमै सम्पन्न गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।










