दिवंगत शर्माका छोराको पठनपाठनका लागि व्यास नगरपालिकाले सहयोग गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका घरनक्सा शाखाका इन्जिनियर कमल शर्माको निधन भएको छ । उनको निधनमा नगरपालिकाले आइतबार शोक बिदा गरेको छ । बिरामी भएपछि असार १३ मा दमौलीकै रत्नहरि अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले चरक अस्पताल रेफर गरेका थिए । १६ गते साँझ उनको निधन भएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
इन्जिनियर शर्माको निधनमा व्यास नगरपालिका परिवारले दुःख व्यक्त गर्दै आइतबार आधा दिन शोक बिदा गरेको हो । नगरपालिका सभाकक्षमा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको अध्यक्षतामा शोक सभा गरिएको थियो । दिवंगत शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता नगरप्रमुख वैकुन्ठ न्यौपानेले बताए ।
अस्पतालबाट हुने सेवा प्रवाहका विषयमा रत्नहरि अस्पतालका सञ्चालक, शर्माको उपचारमा रहेका चिकित्सक, दिवंगत शर्माका आफन्तबीच छलफल समेत भएको छ । अस्पतालमा आउने बिरामीको उपचारमा संवेदनशील हुने र यस विषयमा पुनः छलफल गर्ने गरी सहमति भएको नगर प्रमुख न्यौपानेले बताए ।
नगरपालिका भित्रका अस्पतालहरुले दिने सेवा र प्रयोगशालाका प्रति पटक पटक गुनासो आएको, नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको सम्बन्धमा ५ दिनभित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने, निर्देशन पालना नगरेमा कानुन बमोजिम कारबाही बढाउने निर्णय नगरपालिकाले गरेको छ ।










