घुमाउने पुल : चार वर्षमा एकतिहाइ काम

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो ।

विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

“निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटक–पटक ध्यानाकर्षण गरायौँ”, उहाँले भन्नुभयो । त्रिशूली नदीको वारिपारि ‘फाउण्डेशन’मात्र बनेको छ । अब ‘आकर्’को काम सुरु हुनलागेको अध्यक्ष चुमानले बताउनुभयो ।

एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।

“महानिर्देशकज्यूले निर्माण व्यवसायीलाई फोन गरी यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ, निर्माण व्यवसायीले पैसाको अभावका कारण काम गर्न ढिलाइ भएको बताउनुभएको छ”, अध्यक्ष चुमानले भन्नुभयो, “पैसाको अभावलाई मन्त्रालयबाटै केही समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिबनी निर्माण कम्पनी हेटौँडाले पाएको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिं मार्ग कालोपत्रका लागि काम सुरु भइसकेको छ । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आउनेजाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker