किन सुस्तायो भाइरल तनहुँसुर ?

कृष्ण न्यौपाने/दमौली

प्लेनबाट देखाइदेऊ तनहुँसुर
मोटरैमा घुमाइदेऊ बन्दीपुर
ए कसम लाम माया छपक्कै

तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको संख्या हृवात्तै बढ्यो । बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो ।

दैनिक सयौँको संख्यामा युवायुवती व्यास नगरपालिका-११ तनहुँसुर पुग्न थालेपछि तनहुँसुरको चर्चा शिखरमा पुगेको थियो। शनिबारको दिनमा त तनहुँसुरमा यति धेरै भीड हुन थाल्यो कि उक्त भाइरल चौताराको फोटो खिच्न पालो पर्खिनुपर्ने अवस्था समेत आयो। कालोपत्र सडकको बीचमा रहेको चौतारालाई स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको छ । चौतारा संरक्षणका लागि व्यास नगरपालिका र स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरी व्यवस्थित बनाइएको छ ।

एक्कासि चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ । तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ । सुरुमा हृवात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्न सकिरहेको छैन।

व्यास नगरपालिका-११ स्थित नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ भन्नुहुन्छ, “तनहुँसुरको चर्चा मौसमी जस्तो भयो, सुरुमा चर्चामा आयो । अहिले हृवात्तै घट्यो । दीर्घकालसम्म तनहुँसुरको चर्चा कायमै राख्न सकेनाँै ।” सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रभावका कारण चर्चित बन्दा तनहुँसुरमा एकोहोरो पर्यटकको ओइरो लागे पनि आजभोलि न्यून संख्यामा मात्रै र्सवसाधारण आउने गरेको उहाँले बताउनुभयो । “पहिला दैनिकजसो मान्छेहरू हुन्थे, अहिले शनिबार र बिदाका दिनमा मात्रै फ्याट्टफुट्ट मान्छे हुन्छन्”, श्रेष्ठले भन्नुभयो, “तनहुँसुर मात्र नभई चर्चामा आएका पर्यटकीय गन्तव्यहरूको हालत पनि उस्तै छ ।”

कालोपत्र सडक र चौताराका कारण तनहुँसुर चर्चित बनेपछि टोल विकास संस्थाकै सक्रियतामा दुइवटा चौतारा पुनःनिर्माण गरिएको छ । व्यास नगरपालिकाको रु चार लाख, चन्दा संकलनबाट रु चार लाख २० हजार गरी रु आठ लाख २० हजारको लागतमा चौतारा पुनः निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।

“यहाँ थप पूर्वाधार बनाउन सकिएको भए एकपटक आएका मान्छे पुनः फर्किएर आउँथे होलान्, पूर्वाधार बनाउन सकिएन”, श्रेष्ठ भन्नुहुन्छ, “तनहुँसुरको पर्यटनलाई सदैव चलायमान राख्नका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छौँ ।”

भाइरल चौतारा नजिक रहेको डाँडामा पार्क बनाउने लक्ष्य राखिएको छ । भाइरल चौतारा नजिकको डाँडामा थामे अधिकारीहरूको कूल पूजा गर्ने ठाउँ भएकाले जग्गा विवादमा काम हुन सकेन । अहिले उक्त जग्गाको विवाद समाधान भएको छ । “यस ठाउँमा दृश्यावलोकन केन्द्र बनाउने लक्ष्य राखेका छौँ, करोडौँको योजना भएकाले स्थानीय सरकारले स्वामित्व नलिएसम्म काम हुन सक्दैन”, श्रेष्ठले भन्नुभयो । पूर्वाधार अभावकै कारण तनहुँसुरको पर्यटन सुस्ताएको उहाँको भनाइ छ ।

तनहुँसुर पुग्नका लागि व्यास नगरपालिका-११ रातमाटादेखि ढाँडखोलासम्म कालोपत्र भइसकेको छ । ढाँडखोलादेखि वडाको सीमाना सिम्पानीसम्म सडक कालोपत्रका लागि ‘टेन्डर’को तयारी भइरहेको छ । तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको वडाध्यक्ष दलबहादुर दुरा बताउनुहुन्छ । “संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी रहेको खण्डमा पनि कालोपत्रका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ”, दुराले भन्नुभयो ।

भाइरल चौताराको डाँडामा पार्क निर्माणका लागि ‘लागत अनुमान’ तयार गरिएको र आगामी वर्षको बजेटमार्फत त्यसलाई सम्बोधन गरिने दुराले बताउनुभयो । उहाँका अनुसार पुरानो धरमपानीमा रहेको ऐतिहासिक मन्दिरलाई जीर्णोद्धार गर्ने तयारी गरिएको छ । “तनहुँसुरको विकासका लागि स्थानीय सरकार लागिपरेको छ, पर्यटकलाई यहाँसम्म आउने वातावरण निर्माण गरेर तनहुँसुरको पर्यटन प्रवर्द्धन गछौं”, उहाँले भन्नुभयो ।

ऐतिहासिक ठाउँ तनहुँसुर

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुइ सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्युपछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले ‘तनहुँ’ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले ‘लमजुङ’ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

तनहुँसुरसम्म पुग्नका लागि मोटरमार्गको अलवा पदमार्ग पनि छ । वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैदलमार्ग निर्माण गरेको छ । पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुइवटा घरबासको सुविधा छ । तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाहृय पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केवी थापाले जानकारी दिनुभयो । यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।

यस्तै पाल्पालीथोक, पत्यारथोक र गंगलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक बताउँछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker