भ्रष्टाचारको विरुद्धमा सडकमा साहित्य वाचन
भञ्ज्याङ न्यूज

भ्रष्टाचारको विरुद्ध र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै दमौलीमा साहित्यकारहरुले सडकमै साहित्य वाचन गरेका छन्।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शुक्रबार दमौली स्थित अनसनचौतारीमा आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकारहरुले साहित्य मार्फ भ्रष्टाचार र कुशासनको विरोध गरेका थिए ।
कार्यक्रममा वाङमय प्रतिष्ठानका अध्यक्ष सागर उदासले भ्रष्टचारका विरुद्धको गीत गाएका थिए ।
हरेक पटक गरेका छौ जनता माथी घात
हुन्न रहेछ भ्रष्टचारीको लिङ्ग अनि जात
दुर दरजमा सिंहदरबार पुग्यो भन्दै गाउँमा
दाम भेटी चढाउनु पर्छ सेवा लिने ठाउमा
खिल्ली उडाइ लोकतन्त्रको गर्नु गर्यो घात
हुन्न रहेछ भ्रष्टाचारीको लिङ्ग अनि जात
जनताको दुःख पीडा कुन सरकारले सुन्छ
न्याय र कानुन मेरो देशमा किन बेच हुन्छ
धनको बिटो पाए भने दिनलाई पार्छन रात
हुन्न रहेछ भ्रष्टचारिको लिङ्ग अनि जात !
यस्तै, कार्यक्रममा साहित्यकारहरु समुन्द्र गोदार, श्रीराम कार्की, नारायण श्रेष्ठ, चक्रबहादुर अधिकारी, अन्जु दाहाल, इन्द्र खनाल, तेजप्रसाद लामिछाने, होमबहादुर बस्नेत, बाबुराम सापकोटा, संगम सापकोटा, उपेन्द्र दाहाल, चन्द्रकुमार बानिया लगायत ५५ जना भन्दा बढिले भ्रष्टाचार विरुद्धका साहित्यिक रचना वाचन गरेका थिए ।
साहित्यकारहरुले साहित्यको माध्यमबाट देशमा व्याप्त भ्रष्टाचार, विकृति, बिसंगती र कुशासनको विरुद्ध आवाज उठाइएको अध्यक्ष उदासले बताए ।