घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

पोखरा : र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे ।

‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन् ।’ पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन् ।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपा चर्चा गरे ।

‘आनन्द संहिता’ सुखतर्फ होइन आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए । ‘पाठकलाई बोधको तहमा लैजाने, आफैँभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन् ।’ उनको भनाइ थियो । पाठकका मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झनै बढ्दै जाने पराजुलीले निष्कर्ष सुनाए ।

लेखक खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्नका लागि आफूले बुझेका उपायहरूसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए । ‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैँमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे । आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए ।

‘आनन्द संहिता’ स्वयम्‌को चिन्तन गर्नका लागि आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ थियो । कान्तिपुर दैनिकमार्फत पत्रकारितामा समेत क्रियाशील खड्काको यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्तलगायतका कृतिहरू प्रकाशित छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे । पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको स्मरण गरे ।

पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी रहेको भनाइ राखे । घनश्याम खड्काको किताबले आनन्दित रहने कला सिकाउने विचार राख्दै व्यक्ति, वस्तु र परिस्थितिलाई स्वीकार गरे दुःख नहुने मेयर आचार्यले बताए । पठन संस्कृतिको विकासका लागि लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू केवल लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे । अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए । मानवीय जीवनका सबै क्रियाकलापहरू मस्तिष्कको खेल भएको उनले बताए । आनन्दलाई आफूले अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए । तनावग्रस्त विश्वलाई मुक्त गराउनका लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए ।

कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थीलगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए । सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औँ शृङ्खलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । संस्थाले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker