आजबाट दमौलीमा छैठौ आदिवासी जनजाति महोत्सव

दमौली : तनहुँको दमौलीमा आजबाट छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८२ सञ्चालन गरिदैछ । नेपाल आदिवासी जनजाति महासंघ तनहुँले ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा ऐक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ व्यास नगरपालिका–३ स्थित खुल्लाचौरमा महोत्सव आयोजना गरेको हो ।
महोत्सव मूल समारोह समिति संयोजक सनम तामाङका अनुसार महोत्सवका आवश्यक सम्पूर्ण तयारी पुरा भएको र विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने मगर, दरै, कुमाल र माझी समुदायका परम्परागत घर, प्रदर्शनी कक्ष मुख्य आकर्षणमा रहेका छन् ।
महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम तयार भएको बताइएको छ । अध्यक्ष तामाङका अनुसार महोत्सवमा आइफिल टावर र लण्डन ब्रिजको झल्को दिने संरचना तयार गरिएको छ । “यी संरचना आकर्षणका रूपमा रहेपनि हाम्रो मुख्य उद्देश्य मौलिक संस्कार, संस्कृति र पहिचानको संरक्षण हो”, उनले भने, “महोत्सवबाट प्राप्त आम्दानी जीवन्त सांस्कृतिक संग्रहालय निर्माणमा खर्च गरिनेछ ।”
महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले आइफिल टावर र लण्डन ब्रिजजस्ता संरचनाले दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी गराए ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । परिषद्का कोषाध्यक्ष ठाकुर दरैका अनुसार महोत्सवबाट करिब ७३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने करिब ५८ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको उनले बताए ।
परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाका अनुसार जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिनेछ । महासंघका उपाध्यक्ष शेरबहादुर बोटेले महोत्सवका लागि १५० वटा स्टल पूर्ण रूपमा निर्माण भइसकेको बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । नायक पल शाह, गायक बद्री पंगेनी, गायिका शान्तिश्री परियार, ज्योति मगर, प्रीती आले, प्रकाश सपुत, दुर्गेश थापा, कमल खत्री, खेम सेन्चुरी, प्रताप दास, बबिता किराती, समिक्षा अधिकारी, एलिना चौहान, सञ्जीव सिंह राना, रवि रिमाल, मुना अर्याल, प्रेरणा गिरीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।










