सभागृहहल अपाङ्गतामैत्री बनाउन माग गर्दै मुख्य गेटमा तालाबन्दी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-३ विपी वनवाटिकामा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभागृहको मुख्य गेटमा आइतबार तालाबन्दी गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष समितिले सभाहललाई अपाङ्गतामैत्री बनाउन माग गर्दै सभागृहको मुख्य गेटमा तालाबन्दी गरेको हो ।

संघर्ष समितिका संयोजक मदन पौडेलको नेतृत्वको टोलीले पहुँचयुक्त जिल्ला सभागृह हल निर्माणका लागि दबाब दिन तालाबन्दी गरिएको छ । निर्माण सम्पन्न भएर उद्घाटनको चरणमा रहेको भवन अपाङ्गतामैत्री नभएकाले सोही माग गर्दै तालाबन्दी गर्नुपरेको संयोजक पौडेलले बताए ।

सहमति बिना ताला तोड्ने काम नगर्न आग्रह गर्दै पौडेलले सरकारले गर्ने व्यवहारले आन्दोलनको स्वरुप परिवर्तन हुन सक्ने बताएका छन् । समितिले गत साउन १० गते जिल्ला समन्वय समितिलाई सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तत्पश्चात सकेसम्म सहमतिबाट निकास निकाल्नका लागि संस्थाको तर्फबाट सरकारी पक्षसँग अनौपचारिक छलफल गर्ने काम समेत भयो तर आलटाल गर्ने काम मात्र भएको पौडेलको आरोप छ ।

यस्तै, राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको दमौलीमा निर्माणको अन्तिम चरणमा पुगेको सभागृह अपाङ्गतामैत्री नभएकामा ध्यानाकर्षा भएको बताएका छन् ।

सभापति पन्थले आइतबार प्रेस विज्ञप्ती जारी गरी व्यास नगरपालिका-३ विपी वनवाटिकामा निर्माणाधीन सभागृह पहुँचयुक्त तथा अपाङ्गतामैत्री नभएकामा खेद प्रकट गरेका हुन् । उनले यस सवालमा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘नेपाल सरकारले २०६९ सालमै अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा, अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुःखद छ । यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।

सभापति पन्थले अपाङ्गताको सवालमा समयमै हस्तक्षेप गर्ने र अधिकारको सवालमा खरो उत्रिने अपाङ्गता अधिकारकर्मी समेत आफ्नै नजर अगाडी चुक्नु भएको महशुस भएको बताए । उनले भने, ‘यसतर्फ अपाङ्गता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै हो ।’

पन्थले सभाहल सबैका लागि पहुँचयुक्त र अपाङ्गतामैत्री बनाउन सरकारसँग माग गर्दै यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्नुपर्ने जिम्मेवारी समेत महसुस गरी सरकारका सम्बन्धित निकायसँग आवश्यक निरन्तर छलफल र समन्वय भइरहेको उल्लेख गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker