व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त अभियान चलाउने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले यही पुस १ गतेबाट प्लाष्टिक झोलामुक्त अभियान चलाउने भएको छ । नगरपालिकाले शुक्रबार टोल विकास समिति र सामुदायिक उपभोक्ता समितिहरु बिच वातावरण एवं पर्यावरण सम्बन्धी अन्तरक्रिया गरी प्लाष्टिक झोलामुक्त अभियान चलाउने निर्णय गरेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यापालिका बैठकले नगरपालिका भित्रको घर घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरी विर्सजनको स्थायी समाधानका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।
बैठकले गण्डकी प्रदेश ऐनका प्रावधानहरुलाई लागु गर्न वन उपभोक्ता समिति र व्यास नगरपालिका बिच सहकार्य गर्ने निर्णय गरेको छ। व्यास नगरपालिकाबाट सम्पादित कार्यहरुको वडा समिति मार्फत गरिने विवरण संकलन कार्यलाई सहयोग पुर्याउने भएको छ । उक्त अभियानलाई सफल बनाउन नगरपालिका, टोल विकास समिति र सामुदायीक वन उपभोक्ता समितिले सहकार्य गरेर अघि बढ्ने भएको छ ।
जलवायु परिवर्तन सम्बन्धमा शहरी विकास तथा पूर्वाधार विकास शाखा प्रमुख डा. राजु पौडेलले गण्डकी प्रदेश सरकारद्वारा हालसालै जारी भएको प्रदेश वन ऐन सम्बन्धमा डिभिजन वन कार्यालय तनहुँका सव डिभिजन वन कार्यालयका वन अधिकृत मदन सुवेदी र फोहोरमैला व्यवस्थापन एवं आन्तरिक लेखापरिक्षण शाखा प्रमुख कुमार कञ्चन जिसीले नगरपालिकाबाट सम्पादित कार्य विवरण संकलन विषयको सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा २०० टोल विकास संस्था, ८० सामुदायिक वन उपभोक्ता समिति, नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।










