तनहुँ कालिका शहीद शान्ति उद्यानमा मन्दिर निर्माण

एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति उद्यान (पार्क)मा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेको शान्ति पार्कभित्र रु दुई करोड ५६ लाखको लागतमा प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण सम्पन्न भएको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले मन्दिरको सम्पूर्ण काम सकिएको र बाहिरी भागमा केही निर्माणका काम बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको बाहिर घण्टा झुण्ड्याउने पिलरमा ढुङ्गा बिछ्याउन, मन्दिरको साइडमा पर्खाल लगाउन मात्र बाँकी छ । गत फूलपातीकै दिन मन्दिरको उद्घाटन गर्ने गरी कामलाई अगाडि बढाइएको भएता पनि कोभिडका कारण उद्घाटन गर्न नसकिएको रानाले जानकारी दिनुभयो । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि गत आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।

व्यास नगरपालिकाले विनियोजन गरेको रु १० लाख र उपभोक्ता समितिको समेत गरी रु १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत विनियोजन भएको रु १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किमीको दूरीमा रहेको यस पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । “अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ, प्रदेश सरकारबाट बजेट विनियोजन भएको खण्डमा माथिसम्म नै बाटो पक्की बनाउने लक्ष्य छ”, रानाले भन्नुभयो । मन्दिरमा गत वर्षको फूलपातीको दिन रु चार लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको थियो ।

पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ । करिब ३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

विसं २०६३ भदौ १३ मा सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । आर्थिक वर्ष २०६६÷६७ मा स्थानीय विकास मन्त्रालयमार्फत व्यास नगरपालिकाको जगेडाकोष र स्थानीय उपभोक्ताबाट सहयोग गरी रु ३७ लाख ८३ हजार ५९२ को लागतमा वन क्षेत्रलाई पक्की पिलरसहित काँडे तारवार लगाउने काम भएको थियो । आर्थिक वर्ष २०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १७ लाख ६७ हजार ७५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०६८÷६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख आठ हजार ७०४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने २०६९÷७० मा प्राप्त रु आठ लाख ७९ हजार ५६८ ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरिद र गाड्ने काम भएको थियो ।

त्यस्तै २०७१÷७२ मा प्राप्त रु १२ लाख छ हजार ३७५ को लागतमा मन्दिरको तीनवटा पेटी चारैतिर सिँढी निर्माणका साथै चारवटा मुख्य पिलरसहित जग बसाल्ने काम भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा प्राप्त रु ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुईवटा वनभोजस्थल निर्माणलगायतका काम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ३३ लाख १२ हजार ५२२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्य सम्पन्न गरी बाटो मर्मत गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँटा, मूर्ति खरिदलगायतका काम भएको थियो ।

गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यूटावर, विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुन बाँकी छ । तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker