पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि बन्दीपुरमा पर्यटन विकास बोर्ड गठन

भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटकीय क्षेत्रहरूको पहिचान, विकास, प्रवर्द्धन, प्रचारप्रसार तथा व्यवस्थापन सम्बन्धी काम गर्नका लागि पर्यटन विकास ऐन २०८० को दफा ३ बमोजिम बन्दीपुर पर्यटन विकास बोर्ड गठन गरिएको छ ।

पर्यटन बोर्डमा गाउँपालिका अध्यक्षको अध्यक्षता सहित सदस्यहरूमा गाउँपालिकाको उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत पर्यटन क्षेत्रमा कम्तीमा विगत १० वर्षदेखि क्रियाशील विशेषज्ञ वा पर्यटन व्यवसायीमध्येबाट अध्यक्षले मनोनीत गरेको एकजना अध्यक्षले विभिन्न संघ संस्था निजी क्षेत्र स्थानीय पर्यटन व्यवसायी तथा अन्य सरोकार समूहमा आबद्ध भई क्रियाशील व्यक्तिमध्येबाट एक महिलासहित मनोनित गरेको तीन जना सदस्य रहनेछन् ।

यस्तै बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष अथवा प्रतिनिधि, पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष वा प्रतिनिधि, बन्दिपुर होमस्टे निर्देशन तथा व्यवस्थापन समितिका संयोजक, गाउँपालिकाको प्राविधिक शाखा प्रमुख र गाउँपालिकाको पर्यटन शाखा इकाई प्रमुख सदस्य सचिव रहने गरी बोर्डको गठन गर्नको लागि बन्दीपुर पर्यटन बोर्ड गठन र व्यवस्थापन सम्बन्धी यसअघि नै बन्दीपुर पर्यटन विकास ऐन बनेको थियो ।

पर्यटन विकास बोर्डको अध्यक्षमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा यस्तै सदस्यहरूमा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, विज्ञ सदस्य पर्यटन व्यवसायी वैशबहादुर गुरुङ, बन्दीपुर सामाजिक विकास समितिका प्रतिनिधि सदस्य विक्रम पिया, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान चयन भएका छन् ।

यस्तै अन्य सदस्यहरूमा होमस्टे निर्देशन समितिबाट शान्ति कुँवर, प्राविधिक शाखा प्रमुख सन्तोष थापा, मनोनित सदस्यमा फूलमती थापा, किशोर प्रधान, भूपेन्द्र बानिया -राजु) र पर्यटन विकास शाखाका सुरोज भट्टराइ सदस्य सचिव चयन भएका छन् ।

बोर्डमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा बुधबार पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकमा आमन्त्रित तथा मनोनीत सदस्यहरू बीच स्वागत तथा परिचयात्मक कार्यक्रम समेत भएको छ ।

बैठकमा बन्दीपुर बजार सहित बसपार्कबाट पिपलथोक भैंसीखार टुँडिखेल लगायत बन्दीपुर चक्रपथ भित्रको क्षेत्रमा अव्यवस्थित इन्टरनेट टेलिभिजन प्रदायक संस्थाका तारहरू व्यवस्थित गर्नका लागि तार हटाउन १५ दिने सूचना मार्फ जानकारी गराइने भएको छ ।

यस्तै पर्यटकीय नगरी बन्दीपुर बजारलाई सौन्दरीकरण र मौलिकता कायम राख्नको लागि जथाभावी राखिएका फ्लेक्स बोर्डहरू हटाउनका लागि एक महिना सूचना जारी गर्ने निर्णय समेत भएको सदस्य सचिव बन्दीपुर गाउँपालिका पर्यटन शाखाका सुरोज भट्टराइले जानकारी दिए ।

पर्यटन बोर्डले आगामी दिनमा बन्दीपुर गाउँपालिकाभित्रको पर्यटकीय सेवालाई प्रोत्साहन गरी रोजगारीको सिर्जना मार्फत स्थानीय अर्थतन्त्र एवं रोजगारी अभिवृद्धिमा टेवा पुर्‍याउने, पर्यटनको विकास विस्तार तथा प्रवर्द्धन पूर्वाधार निर्माणमा सहजीकरणका कार्यहरू गर्ने, बन्दीपुर गाउँपालिकाको उत्पादन र उत्पादकत्व बढाउने, बन्दीपुर बजार क्षेत्रलाई संरक्षित र पुरातात्विक सहरको रुपमा विकास गर्न पहल गर्ने लगायतका कार्यहरू गर्ने पर्यटन बोर्डका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker