राष्ट्रिय परिचयपत्र दर्ताका लागि पालिकागत तालिका बनाउन माग

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सेवाग्राहीको भीड बढेर सास्ती भएपछि पालिकागत तालिका बनाएर सेवा दिन माग गरिएको छ । कार्यालयमा दैनिक सयौको संख्यामा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड बढेपछि पालिकागत समय निर्धारण गरी सेवालाई सहज बनाउन माग गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले सोमबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय परिचयपत्रका लागि सहज रुपमा सेवा पाउने वातावरण सिर्जना गर्न माग गरेको हो । विशेषगरी ज्येष्ठ नागरिकहरुले भोग्न परेको समस्यालाई पालिकागत तालिका बनाइ स्थानीय तहको समन्वयमा सूचना प्रवाह गरी सहजता प्रदान गर्न आग्रह गरिएको रास्वपा संयोजक विश्व बास्तोलाले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्रका लागि ज्येष्ठ नागरिकको भीडले सास्ती भइरहेको छ । यसलाई सहज बनाउन प्रत्येक पालिकालाई बार निर्धारण गरेर भीड कम गर्न सकिन्छ’, उनले भने, ‘त्यस्तो हुँदा ज्येष्ठ नागरिकलाई पनि सहज हुनेछ ।’
कार्यालयमा हाल चार वटा दर्ता कक्षबाट सेवा प्रवाह भइरहेको छ । चार वटा कक्षबाट २५० जनालाई मात्रै सेवा दिन सकिने भएपनि सेवाग्राहीको भीड भने पाँच/छ सयको हुने गरेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
यसैबीच रास्वपाले जिल्लाका नदीजन्य पदार्थको अवैध दोहन भइरहेको र राजश्व चुहावट हुँदा समेत सम्बन्धित निकाय मुकदर्शक रहेको हुँदा सोको नियन्त्रण गरी कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा विगत एक महिनामा जिल्लाका विभिन्न स्थानमा आगजनी र हावाहुरीबाट पीडित परिवारलाई शीघ्र राहत प्रदान गर्न र वर्षातको समयमा हुन सक्ने विपद्को घटनामा पीडितले महशुस गर्ने गरी उद्धार र राहत प्रदान गर्नका लागि सोको पूर्व तयारी गर्न आग्रह गरिएको छ ।
पृथ्वीराजमार्ग विस्तारका क्रममा विशेषगरी दमौली, दुलेगौडा लगायतका स्थानमा सडक निर्माण कार्यमा ढिलाइ हुँदा आम नागरिकको दैनिकी र स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुँदा सडक निर्माण कार्यलाई तदारुकता साथ अगाडी बढाउन, किसानका लागि आवश्यक पर्ने मल, बीउ र औषधीको सहज आपूर्ति सुनिश्चितता गर्न र बजारमा मूल्यसूची र गुणस्तरको नियमित अनुगमन गरी उपभोक्ताको हितको संरक्षण गर्न माग गरिएको छ ।