तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

जमुना वर्षा शर्मा/रासस

रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर
महिला हामी एक भई उठौँ जागेर …
गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।
नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसै सिलसिलामा उहाँले यस पटक पनि ‘उठाँै जागेर’ बोलको तीज गीत ल्याउनुभएको छ ।
कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ ।
तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आउनुुभएको छ । यो वर्षको ‘उठाँै जागेर’ उहाँको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने तयारीमा रहेको उहाँको भनाइ छ । “मैले यसपटक राम–सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत विवाह गरिदिने सामाजिक पीडा, माइतीको सम्झनालाई गीतमा उतारेकी छु”, उहाँले भन्नुभयो, “तीजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ ।”
उहाँले आफू तीज संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने बताउनुभयो । “लोक संस्कृति जोगाउनु केवल पुराना गीत संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो । यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ । हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
कोइरालाको मौलिकताको खोज केवल शब्द र सन्देशमा मात्र सीमित छैनन्,  परम्परागत मौलिक घर, चौतारी, कुवा पँधेरो, गोठ, खेतबारीको मौलिकपन पनि भेटिन्छ  । समय बदलिए पनि महिलाका लागि आज समाज सुरक्षित हुन नसकेको र महिलामाथि शोसन दमन र विभेद उस्तै रहेको अनुभव सुनाउँदै उहाँले मौलिकताभित्र सशक्तीकरण र विद्रोहका गीत गाएर सामाजिक जागरण ल्याउन सकिने विचार राख्नुभयो ।
तीजको सन्दर्भ, परिवेश र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हावी भएकाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभइ सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नु आवश्यक रहेको उहाँको भनाइ छ । “अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो, टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो”, उहाँले भन्नुभयो । पहिले चेलीको दुःख पोख्ने माध्यम बनेको तीज गीत, अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको बुुझाइ छ ।
विसं २०१५ चैत १७ गते कास्कीमा जन्मनुभएकी कोइराला नेपाली लोक सङ्गीत र साहित्यकी एक अग्रणी साधक बनेर मौलिक सङ्गीतमा रमाउनुभएको छ । विसं २०४५ देखि निरन्तर नेपाली गीत सङ्गीतमा सक्रिय उहाँले हालसम्म आठ सयभन्दा बढी गीत सक्नुभएको छ भने ८० भन्दा बढी एल्बम रेकर्ड गराउनुभएको छ । उहाँले हम्काइलो, ऐना हेरेर, पाइन खबर, फूलको बास्ना जस्ता कैयौँ कालजयी गीत गाइसक्नुभएको छ ।
उहाँको विशेषता भनेको गीतमा सामाजिक र राष्ट्रिय महत्वका विषयलाई उठाउनु हो । उहाँका सिर्जनामा दरबार हत्याकाण्ड, भूकम्प, कोरोना महामारी, हवाई दुर्घटना जस्ता राष्ट्रिय एवं प्राकृतिक विपत्तिदेखि लिएर बढ्दो राजनीतिक विकृति, दाइजो प्रथा, पारिवारिक कलह, जुवातासको असर र छोरीहरूले भोग्नुपरेका पीडा जस्ता सामाजिक मुद्दाहरू उठान हुने गर्दछन् । उहाँका गीत केवल मनोरञ्जनका लागि होइनन्, समाजलाई झक्झकाउने र सकारात्मक परिवर्तनको सन्देश दिने ऐना रुपमा लिन सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker