जनज्योति क्याम्पसको विकासका लागि अन्तरक्रिया

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको बृहत्तर विकास र स्थायित्वका विषयमा आइतबार भिमादमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । भिमाद नगरपालिका, क्याम्पस सञ्चालक समिति, राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूबीचको उक्त अन्तरक्रिया क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, सल्लाहकार सदस्य पुष्पराज पराजुली, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, पूर्व उपाध्यक्ष एवं सल्लाहकार काजीमान श्रेष्ठ, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य इन्दिरा खड्का, सञ्चालक समिति सदस्यहरू गोपालप्रसाद पराजुली, जीवनाथ अर्याल, मिलन आले, नरेन्द्र थापा, कृष्णकुमारी सुवेदी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाली कांग्रेस भिमाद नगर कार्यसमिति सभापति अरविन श्रेष्ठ, नेकपा (एमाले) भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष अमृत सिग्देल, राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद नगर सभापति हरिप्रसाद लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि धु्रवराज सुवेदी, पूर्व विद्यार्थी संघका अध्यक्ष सुनिल श्रेष्ठ, स्ववियु सभापति विप्लव भण्डारी र नेविसंघ सभापति अमृत गैह्रेलगायतले क्याम्पसको दीर्घकालीन विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख केशवराज काफ्लेले कार्यक्रममा सहजिकरण गर्दै अन्तरक्रियाको औचित्यबारे प्रकाश पारेका थिए । सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले कार्यक्रम सञ्चालन गरेका थिए भने प्राध्यापक संघका सभापति हरिप्रसाद सुवेदीले वक्ताहरूका विचारको सारांश प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि विद्यमान संविधान र कानुनले प्रदान गरेको अधिकारभित्र रही सबै पक्षको सहकार्यमा अघि बढ्ने सहमति गरिएको छ । साथै क्याम्पसको प्रभावक्षेत्रभित्र रहेका स्थानीय तहहरूबीच बृहत् शैक्षिक भेला आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।










