मतदाताको राम्रो साथ पाएको छु : उम्मेदवार ढकाल

तनहुँ : नेपाल कम्युनिष्ट पार्टीबाट तनहुँ–१ का उम्मेदवार विद्यानाथ ढकाल यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् । तनहुँको भूगोल, समाज र यहाँका जनताका समस्या नजिकबाट बुझेको दाबी गर्दै ढकाल गाउँ–गाउँ र टोल–टोल पुगेर स्थानीयसँग भेटघाट गरिरहेका छन्। अभियानका क्रममा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
घरदैलो भेटघाटमा मतदाताहरूले सडक स्तरोन्नति, खानेपानीको अभाव, सिँचाइ व्यवस्थापन, युवाहरूको विदेश पलायन तथा किसानका उत्पादनको उचित मूल्यलगायतका समस्याबारे खुलेर धारणा राखेका छन्। ढकालले ती विषयलाई गम्भीर रूपमा लिँदै “जनताको चाहना अनुसार काम गर्ने” प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले तनहुँ–१ लाई विकास, सुशासन र समान अवसरको केन्द्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गरे। जनताको साथ, समर्थन र विश्वासले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उनको भनाइ छ ।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । मतदातासँग प्रत्यक्ष संवाद र विश्वास निर्माणलाई नै आफ्नो मुख्य शक्ति बनाउँदै ढकालले अभियानलाई निरन्तरता दिइरहेका छन् ।










