शैक्षिक गुणस्तर वृद्धिका लागि भानुमा विभिन्न शैक्षिक सुधार कार्यक्रम सञ्चालन

भानु : तनहुँको भानु नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु अगाडि ल्याएको छ । शैक्षिक क्षेत्रमा सुधार र प्रगतिको लागि नविनतम् अभ्यास र योजनाहरू कार्यान्वयन गर्दै अगाडि बढेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताएका छन् ।
नगरपालिकाले शिक्षा क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरेका छन्। विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षीय योजनाका साथ योजना कार्यान्वयन गरिएको नगर प्रमुख त्रिपाठीले बताए ।
नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई इन्टरनेट पहुँचमा ल्याउने व्यवस्था, शिक्षकहरूको नियमित बैठक र अन्तरक्रियाका माध्यमबाट शैक्षिक गुणस्तर र सुशासन अभिवृद्धि गर्ने प्रयास गरेको छ । विद्यालयहरूमा स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) निर्माण र वितरण गरिएको छ, जसले पाठ्यपुस्तकको पहुँचलाई अझ सुलभ बनाएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । नगरको युवा, शिक्षा र खेलकुद शाखाद्वारा शिक्षक डायरीको निर्माण र वितरण, प्राविधिक शिक्षा छात्रवृत्तिका कार्यक्रमहरू र आधारभूत तहका सबै परीक्षाहरूको जिम्मा नगरपालिकाले लिएको उनले बताए ।
यस्तै, नगरपालिकाले प्राविधिक शिक्षामा विशेष ध्यान दिएको छ । प्रत्येक वडाबाट २ जना गरी २६ जना विद्यार्थीलाई तीन वर्षे प्राविधिक शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ । प्रत्येक विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ, जसले गरिब र जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्न प्रेरित गर्ने बताइएको छ ।
आधारभूत तह (कक्षा १–८) सम्मको शिक्षा निःशुल्क र अनिवार्य बनाइएको छ । यस अनुसार, सबै परीक्षाहरूको जिम्मा नगरपालिकाले लिएको छ र सबै परीक्षा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइन्छ । सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडा अध्यक्ष हरिहर उप्रेतीका अनुसार, आधारभूत तहका बालबालिकाले परीक्षामा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको बताए ।
नगरपालिकाले विद्यालयहरूको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्न विभिन्न पहलहरू लिएका छन्। महिला शिक्षक र बाल विकास सहजकर्ताहरूको सुत्केरी बिदा अवधिमा विद्यालयमा असर नपरोस् भन्ने उद्देश्यले स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ। यसका लागि नगर कार्यपालिकाबाट स्वयंसेवक शिक्षक परिचालन कार्यविधि २०७९ जारी गरेको उनले बताए ।
शुद्ध खानेपानीको प्रबन्ध गर्न प्रत्येक मावि र निमाविका लागि युरोगार्ड, फिल्टर र वास वेंशिन वितरण गरिएको छ । सेनिटरी प्याड डिस्पोजल इलेक्ट्रोनिक मेसिन र सेनिटरी प्याडका व्यवस्थापनका लागि महिला फोकल पर्सन तोकिएका छन् र उनीहरूको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ ।
विद्यालय स्तरमा बालविकास केन्द्रलाई आकर्षक र सिकाइमैत्री बनाउन विभिन्न सिकाइ सामग्री र खेलकुद सामग्री वितरण गरिएको छ । प्रत्येक विद्यालयमा ३० भन्दा बढी विद्यार्थी भएका अवस्थामा एक बाल विकास सहयोगी कार्यकर्ता थप गर्ने नीति पनि नगरपालिकाले कार्यान्वयनमा ल्याएको छ ।
नेपाल सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि दिवा खाजाको अनुदान १५ रुपैयाँ प्रति विद्यार्थी उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसलाई बढाएर २० रुपैयाँ प्रतिव्यक्ति पु¥याएको र कक्षा ६ सम्म विस्तार गरेको छ ।
नगरपालिका शैक्षिक क्षेत्रमा सुधार ल्याउने र विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न योजनाहरू लागू गर्ने गरी अगाडि बढेको हुँदा यसले भविष्यमा गण्डकी प्रदेशका अन्य नगरपालिकाहरूका लागि एक नमूना बनाउने नगर शिक्षा प्रमुख पौडेलले विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले विद्यालय तहका बालविकास केन्द्रलाई सिकाइमैत्री र आकर्षक बनाउन विभिन्न सामग्रीहरूको वितरण गरेको छ । साथै, दिवा खाजा र शुद्ध पानीको प्रबन्धनका लागि आवश्यक भाँडाकुँडा र युरोगार्ड वितरण गरेको शिक्षा अधिकारी पौडेलले बताए ।
नगरपालिकाले खेलकुदको प्रवद्र्धका लागि वडाकप, मेयर कप र शिक्षक मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । शैक्षिक सुधारका लागि लागू गरिएका यी योजनाहरूले भानु नगरपालिकामा शिक्षा र खेलकुदको गुणस्तरमा सुधार ल्याउने उनले विश्वास व्यक्त गरे ।
यस्तै, महिला शिक्षक र बाल विकास सहजकर्ता ९८ दिन सुत्केरी बिदामा हुँदा विद्यालयको पठनपाठनमा असर नपरोस् भनि नगरपालिकाको आन्तरिक स्रोतबाट स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ र यसका लागि नगर कार्यपालिकाबाट स्वयंसेवक शिक्षक परिचालन कार्यविधि २०७९ समेत जारी गरिएको छ ।