एसईईमा सर्वोत्कृष्ट विद्यार्थी र शिक्षकलाई आँवुखैरेनीको सम्मान

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी परीक्षामा ४.० जीपीए सहित उत्तीर्ण हुने २ जना विद्यार्थीसहित उत्कृष्ट अंक ल्याउने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको हो ।
रामशाह माध्यमिक विद्यालयकी छात्रा सञ्जिना थापा र छात्र किस्मत पोखरेलले ४.० जीपीए ल्याउँदै गाउँपालिकाभित्रै मात्र नभई जिल्लामै उच्चतम नतिजा ल्याएका छन्। त्यस्तै, विपस्वी पन्तले ३.९६, गौरव कुमाल र आशिक पन्तले ३.९५, सन्ध्या विकले ३.८२ (दलिततर्फ उत्कृष्ट) र प्राविधिक धारतर्फकी छात्रा महिष्मा श्रेष्ठले ३.७८ जीपीए प्राप्त गरेका छन् ।
विद्यालयगत नतिजा तर्फ गाउँपालिकाभित्रका विद्यालयमध्ये लक्ष्मी माविले शतप्रतिशत, रामशाह माविले ८९.५५ प्रतिशत, कन्यादेवी माविले ७३.३३ प्रतिशत, मित्रता माविले ५८.२३ प्रतिशत तथा छिम्केश्वरी माविले ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि गाउँपालिकाले यी विद्यालयलाई पनि सम्मान गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, शिक्षा अधिकृत निर्मला कुँवरलगायतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा सम्बन्धित विद्यालयका शिक्षकहरूलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
राष्ट्रिय स्तरमा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अवस्थामा आँबुखैरेनीले ७८.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु उपलब्धिजनक रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमनले बताए ।
यस्तै, गाउँपालिकाले ४.० जीपीए ल्याउने प्रति विद्यार्थीलाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरेको छ भने, ३.९० भन्दा माथिको जीपीए ल्याउने विद्यार्थीलाई ३० हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै, उत्कृष्ट नतिजा ल्याउन मद्धत गर्ने ३८ जना शिक्षकलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । विषयगत रूपमा ९० प्रतिशतभन्दा बढी पास गराउने गणित तथा विज्ञान शिक्षकहरू र शतप्रतिशत नतिजा ल्याउने शिक्षकलाई प्रति शिक्षक ५ हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ ।
शिक्षा क्षेत्रको सुधारमा साथ दिएको भन्दै गाउँपालिकाले संस्थागत रुपमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी, उद्योग वाणिज्य संघ, विभिन्न बजार इकाइ समिति तथा आँबुखैरेनी ख्रिष्टियन समाजका प्रतिनिधिहरूलाई समेत कदरपत्र प्रदान गरिएको छ ।
गाउँपालिकाको शैक्षिक सुधारको क्षेत्रमा सबैको हातेमालो आवश्यक रहेको बताउँदै गाउँपालिका अध्यक्ष चुमानले भने, ‘उत्कृष्ट विद्यार्थी, शिक्षक र सहयोगी संस्थाको योगदान सराहनीय छ। यस्ता सम्मान कार्यक्रमले शिक्षा क्षेत्रलाई थप उर्जा दिन्छ । आगामी दिनमा शिक्षा क्षेत्रमा निरन्तर लगानी उत्कृष्ट नतिजाका लागि सबैको साथ र सहकार्यको खाँचो छ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker