बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता

- भञ्ज्याङ समाचारदाता (दमौली)
‘पहाडकी रानी’ उपनामले परिचित ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुइ बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको छ ।
फाइनान्सियल क्लोजर अर्न्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजम परियोजनाको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपियाँ मध्ये दुइ चरणमा लगानी गर्ने समझदारी गरिएको दुबै बैंकले १ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी लगानी गर्नेछन ।
पहिलो चरण अर्न्तगत ७० करोड रुपैया लगानी हुने छ । त्यसबाट केवलकार, रेस्ट्रो जोन र रिक्रियशन सञ्चालनमा ल्याउने योजना रहेको बन्दीपुर केवलकार प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
यसैगरी दोस्रो चरणको होटेल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरी थप ३५ करोड रुपैया कर्जा सुनिश्चिता गरिएको छ । बन्दीपुर केवलकार परियोजनाका लागि लगानीकर्ताका तर्फाट आरकेडी रियल स्टेट एण्ड कन्स्टरक्सन लि र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी गर्नेछन ।
‘निर्माणको चरणमा रहेको बन्दीपुर केवलकार सहितको पर्यटन परियोजनामा लगानीकर्ताको टुंगो लागेपछि परियोजना निर्माण कार्य समयमा नै सकिने बिश्वास लिएका छौ’ कम्पनीका अध्यक्ष शर्माले भने, ‘गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न लागनी सम्झौता एउटा महत्वपूर्ण अवसर सावित हुनेछ ।’
आगामी १० बर्षभित्र बन्दीपुर अबधारणा देशब्यापी रुपमा स्थापित भैसक्ने र १० हजार माथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वकांक्षी योजना समेत बनेको अध्यक्ष शर्माले बताएका छन् ।
कम्पनीले स्थानीय शेयरधनीहरुलाइ थप ब्यबसायिक रुपमा प्रबर्द्धन गर्न ३ दशमलब ५ प्रतिशत ब्याज दर निर्धारण गरी २० करोड बराबरको सहुलियत पूर्ण कर्जा सुबिधा उपलब्ध गराउने घोषणा समेत गरेको छ । यस कर्जाको लागि बन्दीपुर केवलकारले यस अघिनै बैंक संग प्रस्ताब र जमानीको ग्यारेन्टी गर्ने बताईसकेको छ ।
ऋण सम्झौता कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका अध्यक्ष पूर्णसिङ्ग थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तब्य बनाउनको लागि परियोजनाले निर्णायक भूमिका खेल्ने बिश्वास ब्यक्त गरे । उनले परियोजना सम्पन्न गर्नका लागि पालिकाको तर्फाट सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।
बन्दीपुर केवलकार सहितको पर्यटन परियोजना दक्षिण एसियामा नै भिन्न सोच सहित निर्माण भएको छ । यो परियोजनामा केवलकारबाट सिधै चार तारे होटेलमा प्रबेश पाइनेछ । जहाँबाट सुर्योदय, हृवाइट सी, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम, भुत बंगला, भ्युज रुम, १००० अट्ने क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ्ग पुल र ६६ कोठाको होटेल निर्माण हुनेछ ।
कम्पनीले परियोजना थप आकर्ष बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ । जसले दशौँ हजार पर्यटक बन्दीपुरमा लैजाने रणनीतिक योजना बुनेको कम्पनीले जनाएको छ । केही महिना भित्र बटम स्टेशनमा सुबिधा सम्पन्न रेस्ट्रो जोनको ब्यबसायिक सुरुवात गर्ने लक्ष्य कम्पनीको छ ।