भानुको कोटदेउरालीमा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्थापना, पर्यटन र कृषिमा टेवा पुग्ने अपेक्षा

भानु : तनहुँको भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोटको थुम्कामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको कोटदेउराली क्षेत्रमा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ। अधिकारी–क्षेत्री समुदायका कुलदेवता थान परिसरमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा स्तम्भको औपचारिक शिलान्यास तथा स्थापना गरिएको हो।

समाजसेवी समितिका अध्यक्ष शेरजङ्ग अधिकारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बेलबहादुर अधिकारी, नगर कार्यपालिका सदस्य शान्ता मिजार, नेपाल प्रहरीका स्थानीय सुरक्षा निकायका प्रमुख, पोखरीछाप प्रहरी चौकीका प्रतिनिधि तथा नेपाली सेनाको भद्रदल गण भन्सारका सहयोगी सुबेदार सापकोटाको नेतृत्वमा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बयापानी गाउँका आमा समूह, बाबा समूह तथा घलेछाप, कवाजित, छहरे, आहाले, ओख्ले, सिरुबारी र कोटगाउँलगायतका क्षेत्रका स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोटदेउराली क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बताउँदै यसले स्थानीय कृषि तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्षेत्रको सौन्दर्य अभिवृद्धिका लागि २०० वटा लालिगुराँसका बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

स्थानीयवासीहरूले राष्ट्रिय झण्डा स्तम्भले क्षेत्रको पहिचानलाई थप उजागर गर्नुका साथै भावी पुस्तामा राष्ट्रियता, स्वाभिमान र गौरवको भावना विकास गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण कोटदेउराली क्षेत्र राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker