नयाँ वर्षको शुभकामना
के.बि. मसाल

बिक्रम संवतको नयाँ वर्ष ! अर्थात २०८० सालको बिदाई र २०८१ लाई स्वागत गर्दै बैशाख १ गतेदेखि बिक्रम सम्वतको नयाँ बर्ष स्वागत गरिँदैछ । सबैजना नयाँ वर्ष रमाइलोको साथ मनाउने तयारीमा जुटेका छन । नयाँ बर्ष मनाउने प्रचलन पनि आ-आफ्नो सस्कृति अनुसार फरक रहेको हुन्छ । नयाँ बर्ष पर्वको रुपमा पनि मनाउने गरिन्छ । मिठो खाने राम्रो लगाउनेदेखि मठ मन्दिरमा पुजाआजा पनि नयाँ वर्षको अवसरमा गरिन्छ । कोही यो नयाँ वर्षमा नयाँ ठाउँको भ्रमण गर्न रुचाउछन । कोहिले नयाँ वर्षमा नयाँ कामको थालनी गर्दछन । आफ्नो रुचि र अवस्था अनुसार नयाँ वर्ष मनाउने प्रचलन रहेको छ । मानिसमा नयाँ सोच, जोश, जागर, खुसी र उमंग पर्वको रुपमा मनाउँदै आएको नयाँवर्षले थपउर्जा थपिदिने काम गर्दछ ।
प्रत्येक वर्ष आउने नयाँ वर्ष नेपालीहरुले मात्र होइन, वैशाख १ लाई नयाँ वर्षको रुपमा मनाउने अरु देश पनि धेरै छन । आधिकारिक रुपमा इस्वी संवत चल्ने भारत, बंगलादेश, थाइल्यान्ड, बर्मा, श्रीलंका, लाओस, कम्बोडियामा पनि बैशाख एकलाई सांस्कृतिक पर्वका रुपमा मनाउने गर्दछन । भारतमा तमिलनाडुमा वैशाख एकलाई नयाँ वर्षका रुपमा मनाउँछन । यसलाई उनीहरु पुथान्दु भन्छन । यस दिन उनीहरु घर तथा आँगनलाई सजाउँछन्न । त्यसैगरी मिथिला संस्कृति मनाइने क्षेत्रमा वैशाख १ गतेका दिन मैथलीहरु नयाँ वर्ष मनाइन्छ । पन्जाबका पन्जावी तथा सिखहरुले पनि अप्रिल १४ का दिन वैशाखी बनाउँछन । नयाँ वर्ष केवल पात्रो र परिवर्तनको खेल होईन । यो एउटा विशिष्ट विन्दु हो जहाबाट हरेक मानिसले उन्नति, प्रगति एवं सुस्वास्थ्य जीवनको अभियान शुरु गर्ने अठोट लिएको हुन्छ । कुरा व्यक्तिको मात्र होईन । समाज हुँदै सिङ्गो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत नयाँ वर्षको उत्साह र उमंग मुखरित भएको हुन्छ । प्रत्यक वर्ष नयाँ वर्ष आउछ जान्छ । उत्सव हुन्छ, शुभकामना आदन प्रदान हुन्छ, नयाँ कामको प्रारम्भ हुन्छ नयाँ वर्षको आरम्भमा ।
हामीले मनाउँदै आएको नयाँ वर्ष अर्थात विक्रम सम्वत हिन्दु पञ्चाङगमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । नेपालमा प्राचिन आर्य संस्कृति, सभ्यता र परम्परालाई जोगाउने अभिप्रायले विक्रम सम्वतको चलन हाम्रा पुर्खाहरुले चलाएर ल्याएका हुन । यो सम्वत् सनातन हिन्दु परम्परामा आधारित नेपालको राष्ट्रिय पञ्चाङग हो । जसलाई श्री ५ पृथ्वी वीर विक्रमको शासनकालमा राणा प्रधानमन्त्री देव शमशेर र चन्द्र शमशेरले आधिकारिकता दिई सरकारी सम्बतको औपचारिक मान्यता दिएको ठानिन्छ । विक्रम सम्वतलाई उज्जैनका तत्कालिन राजा विक्रमादित्यले चलाएको भनेर बिक्रम संबतलाई विदेशी सम्बत मान्नेहरु पनि छन । तर, यो सम्बत नेपालको प्रथम मौलिक सम्बत हो भन्ने पनि धेरै छन । जे भएपनि यो प्राचिन सनातन परम्परामा आधारीत सौर्य पात्रो हो । जो ग्रेगोरियन पात्रो अंग्रेजी पात्रो भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो छ भने शक सम्बत भन्दा १३५ बर्ष जेठो, कली सम्बत भन्दा ३०४४ वर्ष कान्छो, नेपाल सम्बत भन्दा ९३६ वर्ष ६ महिना जेठो, हिजरी सम्बत भन्दा ६३६ वर्ष जेठो, कलियुगको सुरुवात र कल्कि सम्बत भन्दा ३०४४ बर्ष कान्छो छ । बिक्रम सम्बतलाई अनुशरण गर्ने देश नेपाल मात्र हो भने भारतले यस सम्बतलाई सांस्कृतिक क्यालेण्डरको रुपमा स्वीकारेको पाइन्छ । भारतमा तिथिको आधारमा यसलाई चलाइएको छ । यस संबतमा वर्षको सुरुवात बैशाखको पहिलो दिनबाट अर्थात सूर्यको मेष राशीमा संक्रमण भएपछि हुन्छ । विक्रम संवत भन्दा १३५ वर्ष पछि नेपाल संवतको प्रचलन भएको हो । विक्रम संवतमा ३६५ दिनहुन्छ । भने शक संवतमा ३५४ दिनमात्र हुन्छ । विक्रम संवत नेपालमा प्रचलनमा आएका संवत मध्य सवै भन्दा पहिलो संवत हो । जुन कुराको प्रमाण इतिहासविद नयनाथ पौडेलले विक्रमादित्य राजाको बारे र विक्रम संवतको प्रचलनको बारेमा धेरै प्रमाणित कुरा इतिहासमा लेख्नु भएको छ ।
विक्रम संवत नेपालको मौलिक संवत हो । आफ्नो मौलिकता र पहिचान बचाउँदै प्रमाणको आधारमा विक्रम संवतको निरन्तरता दिदै आएको छ । यो नेपालीहरुको लागि गौरवको कुरा पनि हो । लिच्छविराजा राघवदेवको पालामा शँखधर साख्वाःले नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल सम्वत सुरु गरेको इतिहास छ । यो सम्वत ८८८ बर्षसम्म प्रचलनमा आएको थियो । पछि राण सरकारको पालामा यस संवतलाई हटाएर व्रि|mम संवत लागु गरिएको थियो । नेपालमा नेवार जातीहरुले यस संवतलाई राष्ट्रिय संवतको रुपमा प्रत्यक वर्ष नेपालःवर्ष को रुपमा मनाउदै आएका छन । राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजातिहरु १४२, मातृभाषाः १२४ र धर्मको संख्या १० रहेको छ । ति जातीहरु मध्य धेरै जातीहरुको आफ्नै भाषा र संस्कृति रहेका छन । विक्रम संवतलाई राष्ट्रिय संवत मनाउदै आएपनि कतिपए जातीहरुले आफनै धर्म संस्कृतिबाट चल्दै आएका नयाँ वर्ष र पर्व मनाउँदै पनि आएको पाइन्छ । तिव्वती वौद्ध धर्म तथा संस्कृतिबाट प्रभावित हिमाली क्षेत्रमा शताब्दियौदेखि वसोवास गर्ने गुरुङ, तमाङ र शेर्पा जातीहरुले विक्रम सम्वतको साथै आफ्नो धर्म र संस्कृतिको लोसार पर्वलाई नयाँवर्षको रुपमा मनाउने गर्दछन । तिव्वती भाषामा लो को अर्थ वर्ष र सार को अर्थ नयाँ हो । त्यसैले वौद्ध धर्ममार्गीहरुको लागि लोसार नयाँवर्षको चाड हो । त्यसैगरी पश्चिम नेपालका थारुजातीहरुले माघेसंक्रातीलाई आफ्नो जातीको नयाँ वर्षको दिन मान्दछन । तर पनि ति जातीहरुले राष्ट्रिय पर्वको रुपमा मनाइने विक्रम संवतको पहिलो दिन वैशाख १ गते पनि पर्वको रुपले मनाउदै आएकाछन ।
अहिलेसम्मको अध्ययन अनुसार विश्वमा ११८ वटा देशमा रहने विभिन्न जातीका समुदायले धर्म र जातीको रुपमा नयाँवर्ष मनाउने गर्दछन । नेपालमा पनि विशेषगरी २०४६ पछिका दिनहरुमा आदिवासी जनजातीहरुले पनि परमपरागत मान्दै आएको पर्वलाई नयाँवर्षसंग जोडेर नयाँवर्षको रुपमा आफ्नो चार्डपर्वलाई मनाउन थालेका छन । वौद्धमार्गीहरुले लोसार, किरात र लिम्वुहरुले येलेतङवे र दाङजिल्ला भन्दा पश्चिमका थारुजातीहरुको माघे यसको उधारण मात्र हो । राष्ट्रिय सम्वतको रुपमा विक्रम संवतलाईनै मानेर आफ्नो धर्म सँस्कृतिको नयाँवर्ष मनाउने अन्य जातीहरु पनि हुन सक्दछन । एशियाका अधिकांश राष्ट्र चीन, भारतमा अंग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत विस्थापित गरेर इस्वी संवत लागू गरिएको थियो । तर नेपाल त्यसबेला सम्राज्यवादी प्रभावबाट जोगिएकाले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत यथावत कायम रहिरहेको हो । अर्को तर्फ नेपाल सधै सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवतको निरन्तरता पनि हो । तर अहिले विश्वका धेरै मुलुकले इस्वी सम्वतको जनवरी-१ लाई नयाँवर्षको रुपमा मनाउदै आएपनि इस्वी सम्वत भन्दा विक्रम संवत वैज्ञानिक भएको ज्योतिष विज्ञानको भनाई छ ।
संसारमा नयाँवर्ष मनाउने तरिका पनि आफ्नो धर्म र संस्कृति अनुसार फरक-फरक शैलिमा छ । ल्याटिन अमेरिकामा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानमा विभिन्न किसिमका फूलहरुद्वारा युवालाई कन्याहरुको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्न दिने गर्दछन । मित्रराष्ट्र भारतमा स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ । बगंालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुहरुलाई उपहार प्रदान गरिन्छ । आसाममा यस दिन पशुहरुलाई पूजा गर्दछन । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रुपमा नाँचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मिठामिठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरुसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन छ ।
इन्डोनेसियामा नयाँ वर्षलाई गोलुगान भन्छन । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन । मिठामिठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् । मंगोलियामा यस दिन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शिवाद लिई मीठा परिकार खाएर रम्छन् । कुवेतमा नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन् । मेक्सिकोमा जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन् । जर्मनीमा यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा अर्थात सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ । पोर्चुगलमा यस देशमा नव वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ । बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन, रातको ठीक १२ बजे बर्ढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको मानिन्छ ।
बर्माको बर्मेली समाजमा नयाँ वर्षको उत्सवलाई विज्ञान भनिन्छ । घर र वरिपरी सजिसजाउ पारेर आफन्तहरुमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । नव वर्षको दिन शान्ति र सवृद्धिको प्रतिकको लागि भगवान बुद्धको पुजा गर्ने चलन छ । चीनमा नयाँवर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका भुइचम्पा उडाएर भान्साको देवताको साथै पछिल्लो वर्षलाई विदा दिएर, फेरी त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपद्वारा स्वागत गर्ने प्रचलन छ । चीनमा रातभर जागा बसेर आमा, बावु र गुरुलाई आदर भाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्नुको साथै मिठो खान खाने प्रचलन छ ।
यसैगरी बृटिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्यहाको केही आदिबासीहरु पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल वा छिमेकमा सबै मानिस एकैठाउँमा जम्मा भएर आ-आफनो इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पुजा गरेर नयाँ वर्ष मनाउने गर्दछन । त्यतिबेला उनीहरुको अघिल्लो दिन सूर्यस्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यको पुजा एवं उपासाना गरेर नयाँ वर्ष मनाउने गरेको देखिन्छ । जापानमा नयाँ वर्षको आगमनमा घरहरुलाई हरिया वृक्षहरुले सजाउनुको साथै शुद्ध जल पिउने गर्दछन । जसलाई नवजात जल भनिन्छ । नवजात जल पिउनाले आयु वृद्धिमा र देहमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफू भन्दा मान्यजनबाट आशिष लिने र अरुहरुको ऋण चुक्ता गर्ने गर्दछन् । यस दिनमा चंगा उडाउनुको साथै स-साना बालकहरुलाई अक्षराम्भ गर्न शुभ दिन मान्दछन् । नयाँ वर्षलाई जापानमा यावुरी भन्दछन ।
त्यसैगरी भ्याटिकन सिटीमा क्रिसमसपछि नयाँ वर्ष मनाउने पर्व मानिन्छ । भ्याटिकनमा नयाँ वर्ष मनाउने क्रममा नयाँ सालको पहिलो दिनको बिहान आकाशमा सेता परेवाहरु उडाएर र एउटा ठूलो केक भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षोल्लासका साथ बाँडने गरिन्छ । त्यसैगरी अष्ट्रेलिया र न्युजील्याण्डमा पनि वृटिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदानप्रदान गर्नुको साथै अनेकौँ किसिमका उत्सव मनाउने परम्परा छ । भेनिसको जनजाति इलाकामा यस दिन चर्चहरुमा सामुहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ । थाइल्याण्डमा प्रत्येक घरमा दियो बालेर दिपावली गरी नयाँ वर्ष मनाउँदछन । साथै त्यो दिन बौद्ध मन्दिरमा गएर प्रार्थना गर्दछन् । इरान र इराकसहित अरबको देशहरुमा नयाँ वर्षको आगमन उत्सवलाई नौरोज भन्दछन् । राती दियो बालेर त्यसको प्रकाश उत्साहपूर्वक रमाइलो गर्दछन ।
जसरी हरेक देशमा नयाँ वर्ष मनाउने शैली र परम्परा अलग छ । तर सबैको उद्देश्य भनेको नयाँ वर्ष मानवको लागि शुभ रहोस भन्ने हो । अहिलेसम्म विश्वमा कहिलेबाट नयाँ वर्ष मनाउन सुरु गरियो कुनै प्रमाण छैन । पृथ्वीमा जहिले समयको गणना वर्षमा गन्ने प्रचलनको विकास भयो, त्यहीबाट नयाँ वर्ष मनाउने प्रचलन हुन गएको मानिन्छ । तर लिखित रुपमा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाउने प्रचलन पूर्वी युनानीहरुले हजारौ वर्ष पहिले सुरुवात गरेको पाइन्छ । नयाँ वर्ष २०८१ को सबैलाई शुमकामना ।










