आदिकवि भानुभक्त क्याम्पसमा एविआइटिको नयाँ कार्यसमिति
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको शिक्षाशास्त्र संकायमा स्नातक तहमा सेमेस्टर प्रणालीमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत रहेका विद्यार्थीहरूको साझा संस्था एविआइटि क्लवको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले चौथो सेमेस्टरमा अध्यनरत विकल श्रेष्ठको अध्यक्षतामा क्लवका १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा विशाल रुचाल, सचिव विजय आले मगर, कोषाध्यक्ष सुजाता भण्डारी, सहसचिव अस्मिता पौडेल, प्रवक्तामा आशिक श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सुजन पन्थ, पुजा बसौला, युजीन थापा, कुमार थापा, गौतम कुमाल, निता आले, रोशन सुनार र नेहा शाही चयन भएको बताइएको छ ।
यस्तै, क्लवको अधिवेशन उद्घाटन समारोहमा कम्प्युटर एसोसिएसन नेपाल तनहुँका अध्यक्ष टिकाराम पनेरुले कम्प्युटर एसोसिएसन नेपाल र एविआइटि क्लव विच विगतमा जस्तै सूचना प्रविधिको क्षेत्रमा कार्य सहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सुचना र प्रविधिको क्षेत्रमा क्लवका विद्यार्थीहरुले क्याम्पस भित्र र समुदायमा धेरै कार्यहरु गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनमा व्यास नगरपालिका र अन्य शैक्षिक संघ सस्थाहरुसंगको सहकार्यमा यस क्षेत्रमा शैक्षिक कृयाकलापमा सूचना प्रविधिको प्रयोगलाई थप सुदृढ पार्न सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
क्लवका अध्यक्ष सुजन गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे, सूचना तथा सञ्चार प्रविधि विषय समितिका संयोजक सुलभ कुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
अधिवेशनमा क्लबका सचिव सम्झना रसाइलीले क्लवका गतिविधिहरु समेटिएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरला भण्डारीले क्लवको आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, क्लवले क्लवका संस्थापक अध्यक्ष फल वहादुर थापालाई सम्मान गरेको थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिको विषयमा प्रथम सेमेस्टरमा नयाँ भर्ना भई अध्ययन सुरु गरेका ३१ जना विद्यार्थीहरुलाई क्लवको नयाँ सदस्यता र नामांकन गरिएको ब्याच प्रदान गरेर स्वागत गरिएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।










