तनहुँका सामुदायिक विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा निर्माण गर्ने
भञ्ज्याङ न्यूज
तनहुँका सामुदायिक विद्यालयहरु चालु शैक्षिक सत्रको अन्तिम परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट निर्माण गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले विहीबार तनहुँका स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरुको बैठकले अहिलेको विषयम परिस्थितिमा भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराइ परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षता आयोजित भर्चुवल बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको उपस्थितिमा बसेको बैठकले बिगतमा भएका बैठकका निर्णय कार्यान्वयनको समिक्षा, पालिकाले गरेका शिक्षा क्षेत्रका उपलब्धिमूलक कार्यको आदान प्रदान, समसामुयिक परिस्थितिमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन गर्न सकिने कार्यको खोजीका विषयमा समिक्षा गरिएको थियो ।
उक्त बैठकले यस बर्षो कक्षा १ देखि ७ सम्म र कक्षा ९ को परीक्षाहरु जेष्ठ १५ गतेसम्मको अवस्थालाई ख्याल गर्दा यो अबधिमा विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नभएमा प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, शिक्षकले दिएका परियोजना कार्य, शिक्षकले विद्यार्थीको ब्यबहार अवलोकन, दैनिक रुपमा गरेको मूल्यांकनको आधारमा सबै बालबालिकाको नतिजा निर्माण गर्ने निर्णय गरेको समन्वय इकाइका प्रमुख शर्माले जानकारी गराएका छन् ।
यस्तै, बैठकले हरेक स्थानीय तहमा अनलाइन माध्यमबाट प्रधानाध्यापकको बैठक सञ्चालन गर्ने, यस अवस्थामा पनि विद्यालयले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन गर्न सक्ने कार्यहरुको खोजी गर्ने, सम्वभ हुने विद्यालमा अनलाइनबाट शिक्षण सिकाइलाई निरन्तरता दिने निर्णय गरेको छ । यस अवस्थामा स्थानीय तहले सुधार गर्न सक्ने कार्य, शिक्षकले आप्नो विद्यालयमा गर्न सकिने सिर्जनात्मक कार्यको खोजी गर्ने, हरेका स्थानीय तहमा शिक्षकका ब्यक्तिगत फाइलहरु खडा गरी अपडेट गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा पालिकाले गरेका राम्रा अभ्यास प्रस्तुत गर्ने क्रममा भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाले स्थानीय तहका कार्यपालिकाले शिक्षक विद्यार्थीको अनुपातको आधारमा दरवन्दी मिलान गर्ने निर्णय गरी कार्यान्वयनको चरणमा ल्याएको जानकारी गराइएको थियो ।
अहिलेको अवस्थामा पनि शुक्लागण्डकी नगरापालिकाका खैरेनिटार मावि, पञ्चमुनि देव मावि, तालवेसी मावि, ऋषिङ् गाउँपालिकाको शुक्लागण्डकी मावि, शिवसरस्वती मावि लगायतका केही सामुदायिक विद्यालयहरुले अनलाईन माध्यमबाट कक्षाहरु सञ्चालन गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिएको बैठकमा जानकारी गराइएको थियो।
यस्तै, भिमाद, ब्यास नगरपालिका र म्याग्दे र गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनको चरणमा पुर्याएपनि अन्य पालिकाहरुले यो कार्य नगरेको बताइएको छ । भिमाद नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन करार गरेको, कार्यासम्पादनमा भएका वुदाहरुको आधारमा सूचक निर्माण गरी हरेक महिनामा हुने प्रअ बैठकमा छलफल गर्ने गरेको बताइएको छ ।
भानु नगरपालिकाले शिक्षकलाई विषयगत शिक्षण सिकाइको कार्ययोजना सहितको डायरी प्रकाशन गरी सबै शिक्षकलाई पुर्याएको, विषयगत शिक्षकको सहभागितामा बार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनको चरणमा लगेको छ । शुक्लागण्डकी नगरपालिकाले विद्यालय बगैचा कार्यक्रम, संघीय कार्यक्रम बाहेक आफ्नै बजेटमा नमुना विद्यालय कार्यक्रम निर्माण, विद्यालयमा निकासा गरिएको रकमको निकासा पत्र दिने गरेको बैठकमा जानकारी गराइएको थियो ।
यस्तै, तनहुँका कुनै पनि पलिकाले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्यौं तथा पहुँच सुनिश्चित गर्यौं भनेर भन्न तथा घोषणा गर्न नसकेको, ७ वटा स्थानीय तहमा स्थानीय पाठ्यक्रम बन्न नसकेको, कुनै पालिकामा पनि नगर तथा गाउँ शिक्षा योजना, शिक्षा नीति बन्न नसकेको, आफ्ना पालिकाका शैक्षिक सूचक निर्धारण गरी प्रदेश र राष्ट्रिय सूचकसंग तुलना गर्न बाँकी रहेको जस्ता कार्यहरु सकेसम्म छिटो गर्ने भन्ने निर्णय बैठकले गरेको बताइएको छ ।










